नेपालगन्जः सन्तानको रहर पुगेका दम्पतीका लागि स्वास्थ्य कार्यालय बाँकेले स्थायी बन्ध्याकरण घुम्ती शिविरलाई तीब्रता दिएको छ । महिला पुरुष बन्ध्याकरण शिविरलाई निरन्तरता दिने क्रममा स्वास्थ्य कार्यालयले शनिवार राप्तीसोनारी गाउँपालिका ६ स्थित कमैयाडाँडा आधारभूत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरियो । उक्त शिविरमा १६ जनाले सेवा लिएका छन् । तीमध्ये १५ जना महिना छन् ।
यसअघि मंसिर १४ गते शिविरको पहिलो दिन नरैनापुर गाउँपालिकास्थित गंगापुर स्वास्थ्य चौकीमा गरिएको शिविरमा ११ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । उक्त शिविरमा ८ जना महिला र तीन जना पुरुष गरी ११ जनाले सेवा लिएका थिए । त्यहाँमा पनि सेवा लिनेमा महिलाको संख्या धेरै थियो । दुई वटा शिविरमा २३ जना महिना र ४ जना पुरुष गरी २७ जनाले स्थायी बन्ध्याकरण गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी १८ गते सोमवार राप्तीसोनारी अस्पतालमा शिविरको आयोजना गरिएको छ । उक्त शिविरको तयारी व्यवस्थापन फोकलपर्सन देबनारायण उपाध्यायले गर्नुभएको छ । सन्तानको रहर पुगिसकेका दम्पतीले विहान ८ बजेदेखि राप्तीसोनारी गाउँपालिका ४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा सुरु हुने शिविरमा सेवाको लाभ लिन सक्ने पनि श्रेष्ठले बताउनुभयो । नेपाल परिवार नियोजन संघ बाँकेको प्राविधिक सहयोगमा चालू आर्थिक वर्षमा १० वटा घुम्ति शिविर संचालन गर्ने योजना रहेको फोकल पर्सन उपाध्यायले जानकारी दिनुभयो ।
बैजापुर अस्पतालपछि बेतहनी स्वास्थ्य चौकीमा २० गते, नगर अस्पताल कोहलपुरमा २२ गते, नौवस्ता स्वास्थ्य चौकीमा २४ गते, सम्झना चोक बजार व्यवस्थापन समिति भवनमा २६ गते, प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा २८ गते, बेलभार स्वास्थ्य चौकीमा ३० गते र नेपाल परिवार नियोजन संघमा पुष २ गते शिविर आयोजना गरिएको पनि उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार महिलाका लागि मिनिल्याव र पुरुषका लागि भ्यासेक्टोभी सेवा प्रवाह गरिएको छ । लामो अवधिसम्म काम गर्ने परिवार नियोजनको अस्थायी सेवा लिनका लागि स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकासँग समन्वय र सहकार्य गर्न पनि सेवाग्राहीलाई उहाँको आग्रह छ ।