व्यवसायीहरुको सोच र दक्षता बदल्दै औंषधि व्यवसायी संघ

    • प्रियास्मृति ढकाल

  • १६ मंसिर २०८०, शनिबार

नेपालगन्जः औंषधि व्यवसायीलाई लक्षित गरेर नेपालगन्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औंषधि ऐन तथा बिक्रीवितरण संहिता र कर एवम् लेखा परिक्षण सम्बन्धी बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल औंषधि व्यवसायी संघ बाँकेको आयोजनामा जिल्लामा रहेका औंषधि व्यवसायीहरुलाई आज नेपालगन्जमा बोलाएर प्रशिक्षण दिइएको संघका महासचिव जीवन शर्माले बताउनुभयो । व्यवसायीलाई सकारात्मक सोच तथा व्यक्तित्व विकास समवन्धी प्रशिक्षण अन्तराष्ट्रिय प्रशिक्षक राजु घले, औंषधि ऐन तथा बिक्रीवितरण संहिता सम्वन्धी प्रशिक्षण औंषधि ब्यवस्था बिभाग नेपालगन्जका फार्मेसी निरक्षक दिपेन्द्र कुमार साह र लेखा परिक्षण सम्बन्धि प्रशिक्षण आन्तरिक राजश्व कार्यालय बाँकेका कर अधिकृत कविन्द्र प्रसाद लम्शालले दिनुभएको थियो ।

व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिबृद्धि गर्न र सकारात्मक चिन्तनबाट प्रेरित गर्न प्रशिक्षण कार्यक्रम गरिएको औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष अध्यक्ष जयदेव अवस्थीले बताउनुभयो । संघका अध्यक्ष अवस्थीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल औंषधि व्यवसायी संघका केन्द्रिय सचीव कृष्ण बहादुर रोकायले औंषधि व्यवसायीहरुलाई मर्यादित र अनुशासित बनाउन यो प्रशिक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यस्तै केन्द्रीय सदस्य सरला कुमारी बिष्टले औषधि व्यवसायीहरुलाई पेशागत जिम्मेवारी बोध गराउन यस्ता खालका प्रशिक्षण जरुरी रहेको बताउनुभयो ।

औंषधि व्यवसायी संघका कर्णाली प्रदेश अध्यक्ष प्रेम भण्डारीले व्यवसायीहरुलाई व्यवसायिक ज्ञानको अभावमा थुप्रै समस्या झेल्नु पर्ने अवस्था रहेको भन्दै प्रशिक्षणले व्यवसायिक ज्ञानमा बृद्धि गरेको बताउनुभयो । लुम्बिनी प्रदेश उपाध्यक्ष अभय कुमार बस्नेतले औंषधि व्यवसाय संवेदनशील व्यवसाय भएकाले व्यवसायिक इमान्दारितामा सोच बदल्न कार्यक्रम उपयोगी बनेको धारणा व्यक्त गर्नुभयो । नेपाल औंषधि व्यवस्था बिभाग नेपालगन्जका प्रमुख निनु श्रेष्ठले औंषधि ऐन तथा बिक्रीवितरण संहिता सम्वन्धी जानकारी अभावमा थुप्रै व्यवसायीहरुले समस्या झेल्नु परेको बताउनुभयो ।

उहाँले यस्ता प्रशिक्षणले व्यवसायीहरुलाई कानुनी ज्ञान प्रदान गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा अग्रज व्यवसायी शेम शाक्य, नेपाल औषधि व्यवसायी संघका बर्दिया अध्यक्ष सुरेश राज शर्मा, नेपाल औंषधि विक्री प्रवन्धक संगठन नेपालगन्जका इकाइ महासचिव विशाल विक्रम बर्मा, नेपाल औंषधि तथा विक्री प्रतिनिधि संघ नेपालगन्जका अध्यक्ष डिआर पाण्डे लगायले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बाँकेमा ९ सय बढि औंषधि ब्यवस्था बिभागमा दर्ता छन् । तीमध्ये ६ सयको हाराहारीमा संचालनमा छन् । औषधि व्यवसायी संघमा ३५० बढी आवद्ध छन् । संघले आजको कार्यक्रममा ४११ जनालाई बोलाएको थियो । थोक बिक्रेता संघका जिल्ला उपाध्यक्ष शरदराज अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव शर्माले गर्नुभएको थियो । कार्यक्रमका अथितिहरुलाई पिपलको पातको ब्याज बनाएर स्वागत गरिएको थियो ।

  • १६ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech