नेपालगन्जः विभिन्न सचेतिकरणमूलक कार्यक्रमको आयोजना गरी बाँकेमा ३६ औं विश्व एड्स दिवस मनाइएको छ । ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ नेपालगन्जमा प्रभातफेरी, सडक नाटक, खुल्ला हाजिर जवाफ प्रतियोगिता र कण्डम फुलाउने प्रतियोगिता लगायतका कार्यक्रम गरी दिवस मनाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा एचआइभी÷एड्सविरुद्ध क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम गरिएको भेरी अस्पतालका एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बताउनुभयो । उहाँका अनुसार भेरी अस्पताल प्राङ्गनबाट सुरु भएको प्रभातफेरी त्रिभुवन चोक, त्रिवेणी मोड हुँदै वसपार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
उक्त कार्यक्रममा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले एचआइभी÷एड्स नियन्त्रणका लागि सबैभन्दा पहिला सुरक्षित उपाय अवलम्वन गर्ने र एड्स भइहाले नियमित औषधी सेवन गर्ने र सबैले माया गर्नुपर्ने बताउनुभयो । उहाँले संक्रमितहरुलाई लालछना र भेदभाव भन्दा पनि मायाको जरुरी पर्ने भएकाले त्यसैअनुसारको व्यवहार गर्न परिवारलाई पनि सुझाव दिनुभयो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले संक्रमण दर घटेपनि जोखिम नटरेको भन्दै सचेतना जरुरी रहेको औल्याउनुभयो ।
त्यसक्रममा एचआइभी÷एड्स विरुद्धको सडक नाटक तथा खुल्ला हाजिर जवाफ प्रतियोगिता र कण्डम फुलाउने प्रतियोगिता समेत गरिएको भेरी अस्पतालका एएचएफका कार्यक्रम संयोजक पौडेलले बताउनुभयो । बाँकेमा आर्थिक वर्ष २०७९–८० मा १७ हजार ३२८ जनामा जाँच गरिएकोमा १०९ जना संक्रमित फेला परेका छन् । ०७८–०७९ मा ११ हजार ७४५ जनाको जाँच गरिएकोमा १५७ जना संक्रमित फेला परेका थिए ।
०७९–८० मा ६४ जना नयाँ संक्रमित फेला परेकोमा यो भन्दा अघिल्लो वर्ष भने ८४ जना फेला परेका थिए । हालसम्म एड्सबाट १७२ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ५५६ जनाले नियमित एआरटी अर्थात औषधी सेवन गरिरहेको पनि पौडेलले बताउनुभयो । तीमध्ये ४१२ जना बाँकेका हुन् भने अन्य जिल्ला बाहिरका संक्रमित हुन् ।
फोटो फिचर