नेपालगन्जः सुत्केरी र शिशुको मृत्युपछि लमजुङ अस्पताल तनावग्रस्त छ । मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक र उहाँको शिशुको मृत्यु भएको विषयले हिंजोदेखि लमजुङ अस्पताल तनावग्रस्त बनेको हो । अस्पतालमा मृतक परिवारका आफन्त तथा परिवारले आज साँझ प्रदर्शन, नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । सो क्रममा ढुंगाले लागेर अस्पतालको सीसा फुटेको छ र २ प्रहरीलाई पनि ढुंगा लागेको छ । तनाब बढ्दै गएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मृतको परिवारका पक्षबाट भएको प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्ने क्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ ।
लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीका अनुसार अस्पतालतर्फ ढुंगामुढा प्रहार भएपछि चिकित्सक र उपचाररत बिरामीसमेत त्रसित बनेका छन् । अस्पताल प्रशासनले अहिलेसम्म घटनाबारे यथार्थ सार्वजनिक नगरेको मृतकको परिवार र आफन्तको भनाइ छ । साँझ परिसक्दा पनि अस्पताल, सरोकारवाला र प्रहरी प्रशासनले वार्तामा बोलाउन ढिलाइ गरेको भन्दै आफन्त आक्रोशित बनेका थिए । गर्भवती शोभा विकलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार अस्पतालले विकको शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत निकालिएको शिशु मृत रहेको र सुत्केरी आमाको निरन्तर रक्तश्राब भएपछि मंगलबार बिहान चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो । सुत्केरी विकको चितवनमा अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको थियो । सुत्केरी र शिशुकै मृत्यु भएपछि उहाँको परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै हिंजो बिहानदेखि नै अस्पतालमा प्रदर्शन गरेका हुन् । अस्पतालले राम्रोसँग गर्भवतीको शल्यक्रिया नगरेको, बेलैमा रिफर नगरेको भन्दै आफन्त तथा परिवारले अस्पताल घेरेका थिए ।
आफन्तले घटनाको छानबिन हुनुपर्ने माग राखेपछि गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको निर्णयअनुसार प्रदेश निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनेको हो । समितिले छानबिन गरेर १ हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।