नेपालगन्जः ३६ औं विश्व एड्स दिवसको अवसरमा आज नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रियामा स्वास्थ्य कार्यालयले एक तथ्यांक प्रस्तुत गर्दै बाँकेमा एचआइभी÷एड्स संक्रमितको संख्या घटेको जनाएको छ ।आर्थिक वर्ष २०७९–८० मा १७ हजार ३२८ जनामा जाँच गरिएकोमा १०९ जना संक्रमित फेला परेका छन् ।
०७८–०७९ मा ११ हजार ७४५ जनाको जाँच गरिएकोमा १५७ जना संक्रमित फेला परेका थिए । ०७९–८० मा ६४ जना नयाँ संक्रमित फेला परेकोमा यो भन्दा अघिल्लो साल भने ८४ जना फेला परेका थिए । हालसम्म एड्सबाट १७२ जनाको मृत्यु भएको छ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा स्वास्थ्य कार्यालयले गरेको पत्रकार अन्तरक्रियामा ५५६ जनाले नियमित एआरटी अर्थात औषधी सेवन गरिरहेको स्वास्थ्य कार्यालय बाँकेका एड्स फोकलपर्सन रविन्द्र साहले जानकारी दिनुभयो ।
उनीहरुले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । तीमध्ये ४१२ जना बाँकेका हुन् भने अन्य जिल्ला बाहिरका संक्रमित रहेको साहले बताए । भेरी अस्पतालका एड्स फोकल पर्सन डा.संकेत रिसालले एचआइभी/एड्सबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादर चन्द लगायतले बोल्नुभएको थियो । एएचएफका कार्यक्रम संयोजक संजय पौडेलले बाँकेमा एचआइभी संक्रमणदरमा उल्लेख्य सुधार भएको बताउनुभयो ।
‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ बाँकेमा भोलि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरि एड्स दिवस मनाईदैछ । दिवसको अवसरमा विहान भेरी अस्पतालबाट प्रभातफेरी निकालिने छ । उक्त प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गर्नेछ ।
प्रभातफेरी पछि आयोजित कार्यक्रममा एड्स रोकथाम तथा न्यूनीकरणका सवालमा विभिन्न कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका एड्स फोकलपर्सन साहले जानकारी दिनुभयो ।