कुनै पनि अपरेसन गर्दा चिरेर गर्नुपर्यो भने ठूलो घाउ बनाउनु पर्छ। घाउ बनाउँदा दुखाइ बढी हुने, घाउ पाक्ने सम्भावना बढी हुने र आराम बढी गर्नुपर्ने हुन्छ। बिरामी निको हुन पनि समय लाग्छ। त्यसको सट्टामा दुरबिनको सहयोगमा अपरेसन गर्दा घाउ कम हुने अनि चाँडै निको हुने हुन्छ। जसले गर्दा लेप्रोस्कोपिक सर्जरी धेरै हुन थालेको छ।
म ग्यास्ट्रोइन्टेस्टाइनल सर्जन भएकाले मैले गर्ने धेरैजसो सर्जरी लेप्रोस्कोपिक प्रविधिबाटै गरेको छु। एपेन्डिक्स र पित्त थैलीको अपरेसन यही प्रविधिबाट धेरै गर्न थालिएको छ। त्योबाहेक हर्नियाको अपरेसन पनि लेप्रोस्कोपिक प्रविधिबाट हुन्छ। आमाशयको अपरेसन, कलेजोको कतिपय अपरेसन लेप्रोस्कोपिक प्रविधिबाटै गर्न सकिन्छ।
आन्द्राको क्यान्सरको उपचार पनि यही प्रविधिबाट हुन्छ। यसको लागि केही तालिम लिनुपर्छ। प्यानक्रियाटाइटिसका कारण हुने सिरोसिस्टको अपरेसन समेत दुरबिन प्रविधिबाट हुन्छ। यस्ता धेरै खालका अपरेसन दुरबिन प्रविधिबाट गरिन्छ।
जुनसुकै प्रविधिका पनि जटिलता छन्। दुरबिन प्रविधिको पनि केही जटिलता आउन सक्छन्। कहिलेकाहीँ भित्र घाउ हुन सक्ने थोरै सम्भावना रहन्छ। तर यो भनेको एकदमै कम हुन्छ। मेरो सर्जरीमा यस्तो घटना भएको छैन। तर यस्ता घटना कतिपय अवस्थामा भएका छन्। दुरबिन प्रविधिका जनशक्ति कम छन्। तर यो प्रविधि चलाउन सिक्ने सर्जनहरू बढ्दै छन्।
पायल्स, फिस्टुला, फिसरमा यसको प्रयोग हुन्छ कि हुँदैन भनेर बिरामीले सोधेका हुन्छन्। यी रोगको उपचार लेप्रोस्कोपिक प्रविधिबाट हुँदैन। बरू लेजर प्रविधिबाट गर्न सकिन्छ। यसले घाउ कम गराउँछ।
सामान्य खालका सर्जरी दुरबिन प्रविधिबाट गर्दा धेरै खालमा सामग्री चाहिँदैन। तर जुन किसिमले हामीले क्यान्सरको अपरेसन गर्छौं, त्यसका लागि भने थप सामग्री चाहिन्छ। पाटन अस्पतालमा यसको सबै प्रविधि उपलब्ध छ। त्यस्तै हामीले क्यान्सरका धेरै खाले उपचारको सुरूआत गरेका छौं। क्यान्सरको उपचार क्यान्सर अस्पतालमा मात्रै हुने भन्ने हुँदैन। हामीकहाँ धेरै खालको टिम छ। हाम्रो जस्तो मेडिकल इन्स्टिच्युटमा आउँदा अन्य जटिलताको पनि उपचार गर्न सजिलो हुन्छ।