नेपालगन्जः चिसोबाट थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको हो । यससँगै चिसोले ज्यान गुमाउने पीडितको संख्या १५ पुगेको छ ।
नलगाड नगरपालिकाको न्यायिक समिति सदस्य हरिबहादुर शाहीका अनुसार ८ कात्तिकमा प्रादेशिक अस्पताल सुर्खेतमा सुत्केरी भएकी शर्मिला डिस्चार्ज भएर शुक्रबार घर फर्किनु भएको थियो । पालमुनि बस्नु भएकी उहाँको शनिबार मध्यराति मृत्यु भएको शाहीले बताएउनुभयो। ‘शर्मिलालाई सुत्केरी भएको एक महिनासम्म प्रदेश अस्पतालमै राखिएको थियो ।
अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत घर पुर्याए पनि पालमुनि चिसोमा सुत्नुपर्यो, राति १ बजेतिर मृत्यु भयो,’ शर्मिलाका श्रीमान् दिनेशलाई उद्धृत गर्दै शाहीले भन्नुभयो । शर्मिलाले एक छोरा र एक छोरीलाई जन्म दिए पनि स्वास्थ्यकर्मीले छोरालाई मृत घोषणा गरेका थिए । छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहीले बताउनुभयो।
आमाको ज्यान गएपछि शिशुलाई पाउडर दूध खुवाउन थालिएको छ । त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकलीको आइतबार मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । भूकम्पले घर बस्न नमिल्ने गरी चर्किएपछि उनी पालमा बस्दै आउनु भएको थियो ।
मिर्गौलापीडित नन्दकली प्रादेशिक अस्पताल सुर्खेतमा डायलाइसिस गराइरहनु भएको थियो । उपचार अभाव तथा चिसोका कारण उहाँको ज्यान गएको वडाध्यक्ष पुनको भनाइ छ । १७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् ।
मंसिरको चिसोमा त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका छन् । दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले ज्यान गुमाएका हुन् ।