करिब एक करोडको लागतमा नेपालगन्ज नर्सिङ क्याम्पसको आधुनिक भवन निर्माण

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०८०, सोमबार

नेपालगन्जः भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाईमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ । नर्सिङ क्याम्पसको नयाँ भवनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तहका विषय चार वर्षे बीएस्सी नर्सिङ र तीन वर्षे बीएनएसका छात्राहरुले अध्ययन गर्नेछन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.दिव्यासिंह शाहले नेपालगन्ज नर्सिङ क्याम्पस संस्थानको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक मात्र आंगिक क्याम्पस भएको बताउनुभयो । नयाँ भवन उद्घाटको अवसरमा उहाँले क्याम्पसमा अझै पनि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

डीन शाहले भन्नुभयो-‘त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका आंगिक क्याम्पसका भवनहरु पूराना र जीर्ण अवस्थाका छन् । हामी सबै क्याम्पसमा भौतिक पूर्वाधार निर्माण गर्न पहल गरिरहेका छौ ।’ नेपालगन्ज नर्सिङ क्याम्पसका प्रमुख तुलसा सुनारले क्याम्पसमा बीएस्सी नर्सिङ र बीएनएसमा ३०–३० जना विद्यार्थीको कोटा रहेको जनाउँदै चार वर्षमा बीएस्सी नर्सिङमा एक सय २० जना र तीन वर्षमा बीएनएसमा ९० जना विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो ।

उहाँले क्याम्पसमा अधिकांश पुराना भवन रहेको जनाउँदै यो नयाँ भवनले धेरै सहयोग पुग्ने बताउनुभयो । यसअघि क्याम्पसको ६ कोठे नवनिर्मित सो भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। पेशल दाहालले गर्नुभएको थियो । सो अवसरमा उहाँले नयाँ भवनबाट छात्राहरुलाई शिक्षण सिकाइ कार्य सहज र प्रभावकारी हुने बताउनुभयो ।

उहाँले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका शिक्षालयमा धेरै भौतिक पूर्वाधार पुराना हुँदा नयाँ निर्माण गर्न बाँकी रहेको जनाउँदै हरेक वर्ष भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो । उक्त ६ कोठे दुई तले भवन रजना निर्माण सेवा जुम्लाले ९९ लाख ८२ हजार ७ सय ५० रुपियाँको लागतमा निर्माण गरेको क्याम्पस व्यवस्थापनले जनाएको छ ।

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech