धनगढी उपमहानगरद्वारा निःशुल्क शव चिस्यान सेवा सुरु

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०८०, सोमबार

नेपालगन्जः धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । आजदेखि उपमहानगरपालिकाले आफ्नै लगानीमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो । शव चिस्यान सेवा नगरवासीलाई निःशुल्क उपलब्ध गराइने छ । सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ ।

विदेश तथा घरबाट टाढा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नुपर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवाको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिकालाई जनताप्रति उत्तरदायि बनाउँदै लगिएको र वैदेशिक रोजगारी तथा घरबाट टाढा रहेका दाजुभाइलाई आफन्तको मुत्यु हुँदा शव राख्ने चिस्यान अभावमा आमाबुवा तथा आफन्तको अनुहारसमेत हेर्न नपाउने अवस्था नआओस् भनेर शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

मृत्युलाई रोक्न नसकिने तर कसैको मृत्यु हुँदा आफन्तजन आउँदासम्म शवलाई सुरक्षित राख्न सकियोस् भनेर नगरवासीलाई निुशल्क शव चिस्यान सेवा सञ्चालन गरेको नगर प्रमुख हमालको भनाइ छ । नगर प्रमुख हमालका अनुसार धनगढीवासीले उपमहानगरमा फोन गरेर जानकारी गराएपछि नगर प्रहरीले शव चिस्यान सेवा घरसम्मै निस्शुल्करुपमा पुर्याइदिने र दाहसंस्कार गरिसकेपछि नगर प्रहरीले नै सो चिस्यान फिर्ता लिएर आउनेछन् ।

शव चिस्यान विद्युतबाट सञ्चालन हुन्छ । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षित राख्न सहयोग हुने बताउनुभयो । उहाँले विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउदासम्म शव जोगाउन समस्या हुने गरेको बताउँदै मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरेको बताउनुभयो ।

चिस्यान सेवाले सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिकाले यसअघि विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि नगद ५ हजार र निशुल्क शव बाहन पनि दिँदै आएको छ ।

  • ११ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech