कोहलपुरः लुमन्ती आवासका लागि सहयोग समूहले सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना अन्तर्गत संचालिन कार्यक्रमहरुको निरन्तरता र दीगोपनाका लागि स्थानीय सरकारले अपन्त्व लिनु पर्नेमा जोड दिएको छ । उक्त परियोजनाले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सुरक्षित खानेपानी तथा सरसफाइलाई दीगो र व्यवस्थित रुपमा संचालन गर्न निजी कम्पनीहरुको संलग्नता, क्षमता अभिवृद्धि, व्यवसायिक योजना निर्माण र परिचालन गर्दै आएको छ ।
त्यसैगरी खानेपानी तथा सरसफाईको व्यवहार जन्य परिवर्तन सुधारको माध्यमबाट सुधारिएको खानेपानी तथा सरसफाइको सुविधा र अभ्यासको लागि माग अभिवृद्धि गर्दै आएको परियोजना प्रमुख सूर्यकुमार खड्काले बताउनुभयो । परियोजनाले खानेपानीका लागि धारा जडान, विद्यालयमा सेनिटरी प्याडका लागि भेन्डिङ मेसिन, शौचालय निर्माण लगायतका क्षेत्रमा ठूलो लगानी गरेको छ । परियोजना समाप्तीसँगै त्यसको संरक्षण, संवद्र्धन र प्रर्वधन चुनौतीपूर्ण हुने गरेको छ । त्यही भएर परियोजना सकिएपनि त्यसको दीघोपनाका लागि स्थानीय सरकारले अपन्त्व लिनुपर्नेमा समूहको जोड छ ।
‘परियोजना अन्तर्गत बनेका संरचनाहरुको निरन्तरतासँगै त्यसलाई पूर्णता दिने सवालमा अव स्थानीय सरकारले चासो लिनु पर्छ भन्ने हाम्रो भनाइ हो परियोजना प्रमुख खड्काले भन्नुभयो–‘कम्तिमा त्यसको उपयोगिता दीर्घकालीनरुमा रहिरहोस् ।’ सन् २०२२ जुनमा सकिनु पर्ने उक्त परियोजना कोरोरा महामारीका कारण आगामी डिसेम्वर महिनामा समापन हुँदैछ । यो परियोजना सन् २०१८ जुलाईदेखि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई कार्यक्षेत्र बनाएर संचालित थियो ।
परियोजनाले गरेका कामहरुको वारेमा शुक्रबार पत्रकारहरुलाई स्थलगत अनुगमन गराउँदै समूहले खानेपानी, सरसफाई र स्वास्थ्यका क्षेत्रमा परियोजनाले सरकारका नीतिगत व्यवस्था, कार्यान्वयन अवस्था र सचेतिकरणको पाटोमा सम्मन्वयकारी भूमिका निर्वाह गर्ने काम गरेको कार्यक्रम अधिकृत लालबहादुर बुढाथोकीले बताउनुभयो ।
परियोजना लागू भएका कोहलपुर साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा संचालित खानेपानी गुणस्तर परीक्षण मिनी ल्याब, कोहलपुर नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय लखनवारमा जडित खानेपानीको धारा तथा भेन्टिङ मेसिन, कोहलपुर नगरपालिका–१५ स्थित नगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, बैजनाथ गाउँपालिका–४ मा रहेको स्वास्थ्य जन्य फोहोर व्यवस्थापन केन्द्र र नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अनुगमन गरि त्यहाँ परियोजनाले गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।