अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई भण्डारी पक्राउ

    • स्वास्थ्य पेज

  • २ मंसिर २०८०, शनिबार

नेपालगन्जः कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रकाउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदिप चन्दले २६ कात्तिकमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल ४३ नम्बर गण दार्चुलामा कार्यरत भण्डारी तालिमका लागि पोखरामा जानु भएको थियो ।

उहाँ तिहारको बिदामा आएका बेला धनगढी पुग्नु भएको थियो । स्वस्तिक अस्पतालको सीसीटीभी फुटेजमा ल्यापटप चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका असई भण्डारी रहेको खुलेपछि प्रहरीले सशस्त्र प्रहरीलाई पत्राचार गर्दै सहयोग मागेको थियो । प्रहरीको पत्रपछि सशस्त्र प्रहरीको सहयोगमा भण्डारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

सीसीटीभी फुटेजमा भण्डारीले अस्पतालबाट कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटतिर ल्यापटप चोरी गरेको देखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

  • २ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech