तिहार, झिलिमिलीको चाड, मिठाइको चाड। तिहारमा खाइने परिकार हो, मिठाइ र त्यसमा पनि सेलरोटी। बजारमा किनेका मिठाइहरु ताजा र स्वस्थ्यकर नहुने हुँदा घरमा केही समय खर्चेर आफूलाई आवश्यक केही सामान्य र ताजा बनाउनु उत्तम मानिन्छ। यहाँ सेल रोटी लगायत तिहारमा प्रयोग हुने केही मिठाइका परिकारका विवरण र बनाउने तरिका छोटकारीमा पेस गरिएको छ।
सेलरोटी
सामग्री : चामलको पिठो १ केजी, चिनी २५० ग्राम, सोडा अथवा बेकिङ पाउडर आधा चम्चा, काजु १५० ग्राम, दूध आवश्यकता अनुसार, केरा २ कोसा, घिउ ५०० ग्राम तेल आवश्यकता अनुसार।
विधि : चामललाई घटिमा २ घण्टा पानीमा भिजाएर राख्नूस् र दूध हालेर ब्यालेन्डरमा केही खस्रो हुने गरी ब्ल्यान्ड गर्नूस्, चिनी, काजु, केरा र पगालेको २ चम्चा घिउ पनि हालेर एक छिन अरु ब्ल्याण्ड गर्नूस् र सोडा र मैदा हालेर एक रात छोड्दिनूस्। भोलिपल्ट तातेको तेलमा बाँकी घिउ हालेर सेल बनाउन थाल्नूस्। सकेसम्म नरम सेल राम्रो मानिन्छ।
फिनी/पत्रे रोटी
सामग्री : १ केजी मैदा, ५० ग्राम घिउ, २ कप पानी, आधा कप चिनी पाउडर, एक र आधा लिटर तेल (तार्नको लागि) साठोको लागि २०० ग्राम बटर या घिउ,१ कप चामलको पिठो।
विधि : मैदा घिउ हालेर विस्तारै विस्तारै मुछ्दै जाने र पानी पनि थप्दै जानुपर्छ र पिठो मुछिसकेपछि एक साइड लगाएर राख्ने। केही समयपछि पिठोको डल्लालाई ठिक्क ठिक्कको पेडा बनाएर मिलाउने र बटर या घिउलाई एउटा कचौरामा मुछेर चामलको पिठो मिसाउने जसलाई साठो भनिन्छ र यो रोटीलाई पत्रपत्र पार्न प्रयोग गरिन्छ। पेडालाई राम्ररी बेलनाले बेल्ने र साठो लगाएर रोल गर्ने अनि चक्कुले काटेर फेरि दोहोर्याएर बेल्ने र तातो तेलमा एक एक गरी तार्ने अनी चिनीको धुलो छरिदिने फिनी तयार हुन्छ र तातोतातो य धेरै दिन राखेर पनि खान सकिन्छ।
काजु बर्फी
सामग्री : काजुको पेस्ट-४०० ग्राम, खुवा ४०० ग्राम, चिनी-१८० ग्राम, पानी आवश्यकता अनुसार, नेपाली घ्यु-२ चम्चा, गुलाब जल २ ड्रप।
विधि : नन स्टिक प्यानमा घ्यु तताउनूस् र काजुको पेस्ट हालेर मज्जाले भुट्नूस्। केही समयपछि खुवा हालेर पज्जाले चलाउनूस्। अर्को प्यानमा चिनी र पानी मिसाएर बाक्लो खालको चास्नी तयार गर्नूस्। चास्नीलाई काजु र खुवा भुटेको भाडोमा मिसाउनूस् र अन्त्यमा जुलाब जल हालेर चलाउनूस्। एउटा सफा ट्रेमा मिक्चरलाई सम्याएर राख्नूस् र फ्रिजमा चिस्याउनूस्। भोलिपल्ट लाग्ने चक्कुले आफूले चाहेको साइज र सेभमा काट्न सक्नुहुन्छ र एक एक पिसमा आधाआधा रोस्ट गरेको काजुले गार्निस गरेर सर्भ गर्न सकिन्छ। काजुको बर्फी चिनी बिना सुगर फ्री पनि बनाउन सक्नुहुन्छ।
बुन्दीको लड्डु
सामग्री : डेढ कप बेसनको पिठो, आवश्यकता अनुसार पानी, २ पिन्च साफ्रन कलर, ६ पिस सुकमेल, एक कप चिनी, एक टेबल चम्चा मेलन सिड्स, डेढ कप शुद्ध घिउ।
विधि : बेसनमा पानी र सफरन कलर हलेर मजाले चलाउने र केही समय राख्ने त्यसपछि घिउ तताएर सानोसानो प्वाल भएको झाजरको सहायताले बेसनको लेदोलाई फ्राई गर्ने र एउटा प्लेटमा राख्दै जाने अर्को भाँडोमा पानी र चिनी हालेर चास्नी बनाउने र मज्जाले पाकेपछि सुकमेल, मेलन सिड र फ्राई गरेको बेसनको बुन्दीलाई हालेर चलाउने केही समयपछि आगोको रापबाट निकालेर चिसो हुन दिने र गोलो गोलो गरी लड्डु बनाउन थाल्ने एवं तरिकाले बुन्दीको लड्डु तयार गर्न सकिन्छ र यो लड्डु धेरै दिनसम्म चोसोमा राखेर पनि खान सकिन्छ।
गुलाब जामुन
सामग्री : एक कप दूध पाउडर, १ कप मैदा, आधा कप खुवा, ५० ग्राम पनिर, २ चम्चा घिउ वा तेल, आधा कप दूध, २ चम्चा दही या कागतीको रस, आधा चम्चा सोडा, फ्राईका लागि तेल या घिउ आवश्यकता अनुसार, गार्निसका लागि चप पिस्ता २ चम्चा, सुगर सिरपका लागि एक कप चिनी, ३ कप पानी, आधा चम्चा सुक्मेलको धुलो, एक चम्चा गुलाब जल।
विधि : माथिका सम्पूर्ण सामग्रीलाई एक साथ मिक्स गरेर डो बनाउनूस् र केही समय छाडिदिनूस्, केही समयपछि ठिक्क ठिक्कको गोलो बनाएर तेल या घिउमा सानो आँचमा खैरो हुने गरी फ्राई गर्नूस् र अर्को भाँडोमा सुगर र पानी हालेर सिरप पकाउनूस्, सुकमेलको धुलो र गुलब जल हालेर उमालेपछि फ्राई गरेका
डल्लालाई सिरममा केही बेर पकाउनूस् र पिस्ता गार्निस गरेर तातो तातो सर्व गर्नूस्।
रसबरी
सामग्री : ४ कप दूध, कागतीको रस या भिनेगर एक चम्चा, दुई कप चिनी, ७५० एम एल पानी, थोरै मैदा।
विधि : दूधलाई उमाल्नूस् र कागतीको रस हालेर फटाउनूस्, जाली या सफा कपडामा छान्नूस्। यसरी दूध फटाएर निस्केको छोक्रालाई छिना भनिन्छ। छिनामा मैदा हालेर १० मिनेट मज्जाले रगटेर मुछ्नूस् र गोलागोला गुच्चा बनाउनूस् र अर्को भाँडोमा चिनी हालेर तयार गरिएको सिरममा पकाउनूस्। केही बेर पकाएपछि रसगुल्ला तयार हुन्छ। अन्त्यमा जाफरन लिफ गार्निस गारेर सर्ब गर्न सकिन्छ।
जेरी
सामग्री : ३ कप मैदा,२ कप दही, अधा कप घिउ, ३ कप चिनी, आधा चम्चा सुक्मेल, आधा कप कर्न फ्लोर, साफ्रन पाउडर पिन्च, थोरै बेकिङ पाउडर, २ कप फ्राई वयल, ४ ड्रप रोज एसेन्स, पिन्च फुड कलर अरेन्ज, पानी आवश्यकता अनुसार।
विधि : माथि उल्लेखित सम्पूर्ण सामग्री मिक्स गरेर ८ देखि १० घण्टा या एक रात रुम टेम्पेचरमा छाडिदिनूस् र भोलिपल्ट तेलमा जेरी फ्राई गर्नुस् र पाकेको चास्नीमा डुबाएर तातोतातो खुवाउनूस्।
गाजरको हलुवा
सामग्री : गाजर १० पिस, २ कप दूध, ४ टेबल चम्चा घिउ, ३ टेबल चम्चा चिनी, ३० ग्राम काजु, ५ वटा इलाइची, ५० ग्राम किसमिस।
विधि : गाजरलाई राम्ररी सफा गरेर, ग्रेटरले ग्रेट गर्नूस् र दूधमा मज्जाले पकाउनूस्। ७५ प्रतिशत दूध घटेपछि घिउ, चिनी र अन्य सामग्री हालेर चलाउनूस्। राम्ररी गाजर बानिदै गएपछि तातोको रापबाट हटाउनूस् र तातोतातो खुवाउनूस्। गाजरको हलुवा जस्तै चुकन्दर, सुजी, दाल, पालक, भेडे खुर्सानीको पनि हलुवा बनाउन सकिन्छ।
थेकुआ
सामग्री : एक कप (२५० ग्राम) गहुँको आटा, ८० ग्राम गुद, ७० ग्राम नरिबल, ५ टेबल चम्चा घिउ, ५ वटा इलाइची पिठो मुछ्नका लागि आवश्यक दूध या पानी, सोप एक चम्चा, तार्नको लागि तेल आवश्यकता अनुसार।
विधि : माथि दिएका सम्पूर्ण सामग्री हालेर आटा माज्जाले मुछ्ने र साइड लगाएर राख्ने। केही समयपछि ठिक्क ठिक्कको गोलाई बनाउने र काटाको सहायताले बुट्टा भर्ने। त्यस लगत्तै तातो तेलमा खैरो हुने गरी तार्ने र तातोतातो या लामो समयपछि पनि खान सकिन्छ। यो मिठाइ तराईमा निकै प्रसिद्ध मानिन्छ।