नेपालगन्जः कोभिड महामारीमा बाँकेमा मात्र हैन नेपालभरी सूपरिचत नाम बन्यो नरेश श्रेष्ठ । कोभिड महामारीमा श्रेष्ठले फोकलपर्सनको रुपमा कार्य गर्नुभएको थियो । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले उहाँलाई कोभिड महामारीमा फोकलपर्सनको जिम्मेवारी तोकेको थियो । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठ कोभिड महामारीमा बिरामीको उपचार, व्यवस्थापन र कोभिड नियन्त्रणमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै ‘कोभिड हिरो’को पदक प्राप्त गर्नुभयो ।
आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा श्रेष्ठले रातदिन खटेर समन्वय र सहकार्य गर्दै कोभिड महामारी नियन्त्रण, व्यवस्थापन र उपचारमा आफुलाई अब्बल सावित गर्नुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग कोभिड महामारी व्यवस्थापनमा श्रेष्ठको भूमिका प्रभावकारी देखियो । कोभिड खोप व्यवस्थापनमा पनि श्रेष्ठकै नेतृत्व प्रभावकारी बन्यो । र त, कोभिडको इपिसेन्टर बनेको बाँकेमा महामारी नियन्त्रणमा सम्भव भयो । अहिले फेरि श्रेष्ठको भूमिका उस्तै अब्बल देखिएको छ ।
जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार व्यवस्थापनको जिम्मेवारी पाएसँगै श्रेष्ठ भेरी अस्पतालमा अहोरात्र खटिएर बिरामीको उपचार व्यवस्थापन गर्दै आउनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल नेतृत्वको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले फोकलपर्सनका रुपमा श्रेष्ठलाई जिम्मेवारी तोक्यो । प्रमुख जिल्ला अधिकारी पोख्रेललाई थाहा थियो यस्ता विपदमा श्रेष्ठको ‘म्यानेजमेन्ट’ क्षमता अव्वल छ । त्यही भएर भूकम्प गएको मध्यरातमै भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाउँदै प्रमुख जिल्ला अधिकारी पोख्रेलले बिरामीको उपचार व्यवस्थापनको फोकलपर्सनको जिम्मेवारी श्रेष्ठलाई दिनुभयो ।
जसैगरी कोभिड महामारीमा तत्कालीन सिडियो कुरुम्वाङ र फोकलपर्सन श्रेष्ठबीच समन्वय र सहकार्यबाटै प्रभावकारी कार्य देखियो भूकम्प पीडितको उपचार र राहात व्यवस्थापनमा पनि अहिलेका सिडियो पोख्रेल र फोकलपर्सन श्रेष्ठबीच उस्तै समन्वय र सहकार्य प्रभावकारी देखिएको छ । श्रेष्ठ संचारकर्मीसँग पनि सहज उपलब्ध हुने गर्नुभएको छ । मिडियामैत्री भएकाले पनि श्रेष्ठलाई धेरै काम गर्न सहज भएको छ । कोभिड महामारीमा पनि श्रेष्ठ मिडियासँग सहज उपलब्ध हुने र संचारकर्मीका लागि तथ्यगत सूचना प्रवाह गर्ने गर्नुहुन्थ्यो ।
यस्ता विपद्मा मिडियाहरुलाई छिटोछरितो र विश्वसनीय सूचना जरुरी पर्छ । सहि सूचना सम्प्रेषण भयो भने धेरै भ्रमहरु तोडिन्छन् पनि । तर यस्ता विपदीमा सरकारी संयन्त्रहरु मिडिया देखि भाग्ने प्रचलन बढी छ । तर अहिले बाँकेका सिडियो र फोकलपर्सनको ‘ट्युनिङ’ गज्जवले मिलेको छ त्यसको अर्काे एउटा पार्ट हो ‘मिडियामैत्री’ । गएको १७ गते जाजरकोटको लामिडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नीच्यूडको भूकम्पबाट घाइते भएका मध्ये भेरी अस्पतालमा ५८ जना उपचारका लागि आएका थिए ।
ती मध्ये १८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । ३६ जना उपचाररत छन् । १३ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । एक जना भने उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामीलाई न्यानो कपडा समेत व्यवस्थापन गरिएको छ । घाइतेको सहज उपचारका लागि सिडियो पोख्रेलले नियमित भेरी अस्पतालको अनुगमन समेत गर्दै आउनु भएको छ ।