नेपालगन्जः स्वास्थ्य कार्यालय बाँकेको हालत कस्तो होला ? बुझ्न धेरै टाढा जानु पर्दैन् । कार्यालयले प्रवाह गर्ने सेवा, यसको पारदर्शीता, सुशासन, रिपोर्टिङ लगायतका सूचकलाई आधार बनाएर गरिएको मूल्यांकनमा लुम्विनी प्रदेशका १२ जिल्ला मध्ये ११ औं स्थानमा खुम्चिएपछि स्वास्थ्य कार्यालय बाँकेको स्वास्थ्य अवस्था वेहालमात्र देखिएको छैन नेतृत्वप्रति नै गम्भीर प्रश्न उठेको छ ।
आर्थिक वर्ष २०७९-०८० को सम्पादित प्रगति मूल्यांकनको आधारमा जिल्लाका जनस्वास्थ्य क्रियाकलापहरुको सूचकको मापनलाई आधार वनाई लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयले १२ जिल्लाको स्वास्थ्य कार्यालयको कार्य सम्पादनबारे मूल्यांकन गरेको थियो । विभिन्न १० वटा सूचकलाई आधार बनाएर मूल्यांकन गरिएको थियो ।
बार्षिक समिक्षा गोष्ठीको आयोजना गरेर गरिएको मूल्यांकनमा स्वास्थ्य कार्यालय बाँकेको अवस्था खराव देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेमा सुनिता पोडेलको नेतृत्व छ । कार्य प्रगति मूल्यांकनमा पाल्पा ७६.७६ प्रतिशत अंक ल्याएर पहिलो भएको छ । यस्तै रोल्पा ७६.०७ प्रतिशत अंक ल्याएर दोस्रो हुँदा ७३.४९ प्रतिशत अंक ल्याएर रुपन्देहि तेस्रो हुन सफल भएको छ ।
गुल्मी ७३.०५ प्रतिशत अंक ल्याएर चौथो, प्यूठान ७२.५९ प्रतिशत अंक ल्याएर पाँचौ, नवलपरासी पश्चिम ७१.५९ प्रतिशत अंक ल्याएर छैठौं स्थान हासिल गरेको छ ।
यसैगरी ७०.५६ प्रतिशत अंक ल्याएर रुकुमपश्चिम सातौं, बर्दिया ६९.८४ प्रतिशत अंक ल्याएर आठौं, दाङ ६७.५५ प्रतिशत अंक ल्याएर नवौं, ६७.१० प्रतिशत अंक ल्याएर अर्घाखाँची १० औं, ६६.३३ प्रतिशत अंक ल्याएर बाँके ११ औं र ६०.६३ प्रतिशत अंक ल्याएर कपिलबस्तु सबैभन्दा पुछार १२ औं स्थानमा रहेको छ ।