नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा भूकम्पबाट घाइते शल्यक्रिया गर्नुपर्ने अवस्थाका सबै बिरामीको शल्यक्रिया गरिएको छ । अस्पतालमा ११ जनाको शल्यक्रिया भएको अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. प्रकाश थापाले जानकारी दिनुभयो ।
भूकम्पका कारण घर भत्केर उनीहरूको हात, खुट्टा, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ।
भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम)का घाइतेलाई शनिवारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो। घाइतेको अवस्थालाई मध्यनजर गरेर पालैपालो शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ। अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन्। तीमध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको थियो। अस्पतालमा भर्ना भएकामध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार २ जना घाइतेको स्वास्थ्य अवस्था जटिल छ।