कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु, पन्ध्र रोगको परीक्षण हुने

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०८०, बुधबार

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा ल्याव (प्रयोगशाला) सेवा सुरु भएको छ । बुधवार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले ल्याव सेवाको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष पौडेलले पालिकालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ काम गरिएको बताउनुभयो । सबै नागरिकहरुले सहज र सरल तरिकाले सेवा प्राप्ती गरुन भन्ने पालिकाको उद्देश्य रहेको पनि उहाँले सुनाउनुभयो । सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी पालिकाले काम गरिरहेको उहाँको भनाइ छ ।

‘पालिकासँग निश्चित बजेट छ उहाँले भन्नुभयोे–‘थोरै बजेटबाट पनि कुसुम स्वास्थ्य चौकीमा ल्याव जडान गरेर सेवा प्रारम्भ गरेका छौं ।’ कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएपछि सामान्य रोगको पहिचानका लागि छिमेकी जिल्ला दाङको लमही वा बैजापुर अस्पताल, कोहलपुर र नेपालगन्ज पुग्नु पर्ने त्यसक्षेत्रका बासिन्दाको समस्या हल भएको समेत उहाँले बताउनुभयो । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी पालिका लागि परेको भन्दै उहाँले त्यसका लागि सबैको सहयोग र साथको आवश्यकता समेत औल्याउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भुगोलका हिसावले पालिकाको पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याव सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकहरुलाई ठूलो राहात मिलेको बताउनुभयो । स्वास्थ्य चौकीलाई स्तरीय बनाउँदै लगिएको बताउँदै उहाँले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको बताउनुभयो । ‘पालिकाका सबै स्वास्थ्य चौकीहरुलाई स्तरीय बनाउँदै लगिएको छ उहाँले भन्नुभयोे–‘कम्तिमा पनि नागरिकहरुले आफ्ना घरछेउबाटै सर्वसुलभ सेवा प्राप्त गरुन भन्ने उद्देश्य हाम्रो हो ।’ यसैगरी कार्यक्रममा बोल्दै नेपाल रेडक्रस जिल्ला शाखा बाँकेका सह–महामन्त्री तेज बहादुर सुवेदीले स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएपछि स्थानीयबासीलाई ठूलो राहात मिलेको बताउनुभयो ।

उहाँले सामान्य खाले रोगको परीक्षणका लागि सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य भएको भन्दै यसलाई प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिनुभयो । ‘ल्याव संचालनपछि यहाँका गरिव तथा विपन्न समुदायका मानिसहरुलाई राहात मिलेको छ उहाँले भन्नुभयोे–‘ल्याव नियमित चलोस्, विश्वसनीय रिपोर्ट प्राप्त होस् ।

छिटोछरितो होस् ।’ राप्ती सोनारी गाउँपालिका–१ का वडाअध्यक्ष यमबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्वर ७ का वडाअध्यक्ष रामलखन थारु, वडा नम्वर ४ का वडाअध्यक्ष मिनराज खड्का, वडा नम्वर २ का वडाअध्यक्ष ज्ञानुराज वली लगायत स्थानीय समाजसेवी, बुद्धिजीवि, शिक्षक लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाको रु पाँच लाखको बजेटमा कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएको हो ।

उक्त ल्यावबाट पन्ध्र वटा रोगको परीक्षण हुनेछ । स्वास्थ्य चौकीको ल्याव संचालनका लागि बैजापुर अस्पतालबाट ल्यावटेक्निसियन स्मृति कुसुमियालाई खटाइएको छ । चालू आर्थिक वर्षमा पालिकाले कुसुम स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरेको पहिलो हो भने हालसम्म राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संस्थामा पाँच वटा ल्याव जडान गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको वर्ष कचनापुर स्वास्थ्य चौकी, महादेवपुरी स्वास्थ्य चौकी, बैजापुर अस्पताल र बिनौना स्वास्थ्य चौकीमा पालिकाको आफ्नै लगानीमा ल्याव सेवा सुरु गरेको थियो । तिहार लगत्तै वडा नम्वर ६ मा रहेको स्वास्थ्य चौकीमा पनि ल्याव सेवा सुरु गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

कुसुम स्वास्थ्य चौकीमा सिनियर अहेव अमरसिंह महतराको कमाण्डमा ९ जना कर्मचारी थिए । ल्याव टेक्निसियन पनि खटाइएपछि अव यो स्वास्थ्य चौकीमा १० जना कर्मचारी पुगेका छन् । तीन जना अहेव, तीन जना नर्सिङ स्टाफ, दुई जना कार्यालय सहयोगी यसअघि नै कार्यरत रहेका छन् । कुसुम स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि संचालनमा रहेको छ । कुसुम स्वास्थ्य चौकीबाट, बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभर लगायतका स्थानीयबासीले सेवा लिने गरेका छन् ।

  • २२ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech