भेरी अस्पतालमा उपचाररत ३७ मध्ये ५ जनाको शल्यक्रिया, सवैको अवस्था खतरामुक्त

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८०, आईतवार

नेपालगन्जः शुक्रबारराति जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरू मध्ये भेरी अस्पतालमा उपचाररत पाँच जनाको शल्यक्रिया गरिएको छ। उपचाररत ३७ जना बिरामीमध्ये ५ जनाको गएराती १२ बजे सफलतापूर्वक शल्यक्रिया गरिएको प्रकोप व्यवस्थापन टिमका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार राती थप ६ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको छ । राती पौने एक बजे जाजरकोटका २ र रुकुम पश्चिमका ४ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको श्रेष्ठले जानकारी दिनुभयो । भेरीमा उपचारका लागि ल्याइएका ३७ जनामध्ये अहिले सबैको अवस्था खतरामुक्त रहेको पनि उहाँले जानकारी दिनुभयो।

एक जनाको अस्पतालमा पुर्‍याउँदा पुर्‍याउँदै बाटोमा मृत्यु भएको थियो । भेरी अस्पतालमा ३७ जना र एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । उपचाररत ३२ जनामध्ये १६ जना महिला र १६ जना पुरुष रहेको प्रकोप व्यवस्थापन टिमका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जसमध्ये, नौ जना बालबालिका, एक जना गर्भवती महिला र पाँच जना ज्येष्ठ नागरिक रहेको श्रेष्ठले बताउनुभयो । उपचारका लागि नेपालगन्ज ल्याइएका घाइते बिरामीमध्ये १ जना बाँकेका, २३ जना जाजरकोटको, १३ जना रुकुमपश्चिमको र १ जना सल्यानको रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech