चार हजार मानिसमा देखियो स्क्रब टाइफस, कसरी जोगिने ?

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०८०, शुक्रबार

नेपालगन्जः डेंगीसँगै स्क्रब टाइफस संक्रमितको संख्या यसवर्ष बढेको छ । सन् २०२३ को जनवरीयता अक्टोबर अन्तिमसम्म तीन हजार ९०० जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाले जनाएको छ ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यो संक्रमण धादिङ, नुवाकोट, संखुवासभा, बाग्लुङ, पर्वत, लमजुङ, कैलाली कञ्चनपुरलगायतका जिल्लामा धेरै देखिएको छ । नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रब टाइफस संक्रमितको संख्या वर्षेनी बढ्दै गएको डा. दाहालको भनाइ छ । गतवर्ष सन् २०२२ मा संक्रमितको संख्या तीन हजार ५०० पुगेको थियो ।

कसरी जोगिने स्क्रब टाइफसबाट ?

स्क्रब टाइसफबाट संक्रमितलाई अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, शरीरका विभिन्न भागमा ससाना बिमिरा देखिने, हल्का आँखा रातो हुनेजस्ता लक्षण देखिन्छन् ।

यस वर्ष पूर्वी नेपालको सुनसरीबाट सुरु भएको डेंगु संक्रमण देशभर फैलिएर सरकारको काबुबाहिर गइरहँदा पश्चिम नेपालको पाल्पाबाट सुरु भएको स्क्रब टाइफस पनि उत्तिकै चुनौतीपूर्ण बनिरहेको छ । यद्यपि, डेंगु संक्रमणको भयावह अवस्थाका कारण स्क्रब टाइफसले अधिकांश जिल्लालाई आक्रान्त पारे पनि मिडिया र आममानिसको ध्यानमा आएको छैन ।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म किरा ‘माइट’को टोकाइका कारण फैलिने रोग हो । यो किरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालमा बस्छ ।

नेपालमा भुइँचालो आएपछि बढी मात्रामा मुसा देखिन थालेको र त्यसको टोकाइका कारण मानिस संक्रमित बन्दै गइरहेको देखिन्छ । सुरुमै उपचार गरेको खण्डमा सामान्य एन्टिबायोटिकले ठीक हुने तर उपचारमा ढिलाइ भएको अवस्था जटिल बन्ने गर्छ । पछिल्ला वर्षमा यस रोगको संक्रमणबाट हुने मृत्युदर घटे पनि संक्रमित हुनेको संख्या भने बढ्दो क्रममा छ ।

बढीजसो समथर भूभाग र घरवरपर बस्ने मुसामा किर्ना हुन्छ । किर्नामा अन्डा, लार्भा, निर्खा, एडल आदि हुने गर्छन् । किर्नाको लार्भा ६ खुट्टे हुन्छन् । त्यसले मानिसलाई टोक्न पुग्यो भने मानिसमा ब्याक्टेरिया हालिदिन्छ, जसका कारण स्क्रब टाइफसको संक्रमण हुने गर्छ । अन्य कतिपय ब्याक्टेरिया कोषिकाभन्दा बाहिर पनि बाँच्न सक्ने भए पनि यो भने कोषिकामा मात्र बाँच्छ ।

गत वर्ष पनि स्क्रब टाइफस पाल्पाबाटै फैलिएको थियो । सन् २०१७ मा यस रोगबाट ६ सय ७० जना संक्रमित भएकोमा नौजनाको मृत्यु भएको थियो । त्यसैगरी, सन् २०१८ मा त्यो संख्या बढेर एक हजार ९८ मा संक्रमण भएको थियो भने चारजनाको ज्यान गएको थियो । सन् २०१९ को आठ महिना अवधिमा ५५५ जनामा यसको संक्रमण भइसकेको छ भने तीनजनाको मृत्यु भइसकेको तथ्यांक देखिन्छ । संक्रमितको संख्या अझै बढ्दै जाने विशेषज्ञहरूको भनाइ छ ।

पछिल्लो आठ महिनायताको तथ्यांकअनुसार स्क्रब टाइफसको सबैभन्दा बढी संक्रमण प्रदेश ५ मा २२४ जनामा देखिएको छ । त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा आठजनामा संक्रमण भएको पाइएको छ । त्यसैगरी, प्रदेश ३ मा १९१, सुदूरपश्चिममा ६१, गण्डकीमा ३९, प्रदेश २ मा २० र प्रदेश १ मा १२ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर र धनकुटा नौ जिल्लामा यस रोगको प्रकोप देखिएको छ । त्यसैगरी प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी सात जिल्ला बढी प्रभावित देखिन्छन् । त्यसैगरी प्रदेश ३ मा सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर र चितवन गरी ११ जिल्लामा यसको प्रभाव बढी छ ।

यसैगरी गण्डकी प्रदेशका गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ र नवलपरासीपूर्व गरी आठ जिल्ला यसको चपेटामा परेका छन् । उता लुम्बिनी प्रदेशमा चाहिँ गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुमपूर्व, दाङ, बाँके, बर्दिया र नवलपुर गरी १३ जिल्लामा यसको प्रकोप फैलिएको देखिन्छ । कर्णाली प्रदेशमा भने यसको प्रभाव निकै कम देखिएको छ । यहाँका सल्यान, सुर्खेत, जाजरकोट, कालिकोट र रुकुम पश्चिममा यस रोगका संक्रमित भेटिएका छन् । उता सुदूरपश्चिम प्रदेशमा चाहिँ बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी गरी सात जिल्लामा यसका संक्रमित भेटिएका छन् ।

लक्षण र जटिलता : स्क्रब टाइसफबाट संक्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, शरीरका विभिन्न भागमा ससाना बिमिरा देखिने, हल्का आँखा रातो हुने जस्ता लक्षण देखिन्छन् । सामान्यतया संक्रामक परजीवीले टोकेको पाँचदेखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ । कसैकसैमा भने २० दिनपछि पनि लक्षण देखिन सक्ने चिकित्सकको भनाइ छ ।

स्क्रब टाइफसको समयमै निदान तथा उपचार नभएमा मल्टिपल अर्गान फेलियर (विभिन्न अंगले काम गर्न छोड्नु), निमोनियालगायत विभिन्न जटिलता उत्पन्न भई संक्रमितको मृत्यु हुन सक्छ ।

कसरी पत्ता लगाइन्छ ? : स्क्रब टाइफसको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म किराले टोकेको चिनोबाट पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट र सिबिसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षणसमेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालमा द्रुत परीक्षण कीटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ ।

कसरी बच्ने ? : सामान्यता मानिसले आफ्नो घरवरपर मुसा आउन नदिने वातावरण तयार गर्नुपर्छ । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चउरमा सुत्नु हुँदैन । संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा गएर उपचार सुरु गरिहाल्नुपर्छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech