आँखामा फुलो किन पर्छ, कसरी जोगिने?

    • प्रा. डा. सबिना श्रेष्ठ / नेत्ररोग विशेषज्ञ

  • १५ कार्तिक २०८०, बुधबार

आँखाको बाहिरी नानीको कालो भागमा सेतो घाउ भयो भने त्यसले दाग छोड्छ। त्यसलाई नै फुलो परेको भनिन्छ। फुलो पर्न आँखाको नानीमा चोटपटक लाग्नुपर्छ। रोपाइँको समयमा, धान काट्दा वा केही काम गर्दा आँखामा केही छिर्‍यो अनि त्यो व्यक्तिले आँखा माड्यो भने फुलो पर्न सक्छ। घाउ हुँदा आँखा दुख्ने, रातो हुने, घाममा हेर्न नसक्ने अनि आँखाबाट पानी बगिरहने हुन्छ।

फुलो पर्ने कारणहरू धेरै हुन्छन्। त्यसको कारणको आधारमा उपचार गर्नुपर्छ। चोटपटक लागेको बाहेक ब्याक्टेरियल र भाइरल इन्फेक्सनले समेत आँखामा फुलो पर्छ। कहिलेकाहीँ सानो चोटपटक लागेको बेलामा जथाभाबी औषधि प्रयोग गर्दा पनि फुलो पर्न सक्छ। त्यसैले आँखामा चोटपटक लाग्यो भने चिकित्सकको सल्लाहमा मात्रै औषधि प्रयोग गर्नुपर्छ।

चिकित्सकको सल्लाहबिना कुनै औषधि राख्न हुँदैन। किनकि, कहिलेकाहीँ एउटालाई मिलेको औषधि अरूलाई नमिल्न सक्छ। त्यस्तै घरेलु उपचारका नाममा अनेक गरिन्छ। त्यो पनि गलत हो। औषधि नभएका बेलामा धामीझाँक्री अनि घरेलु औषधि गरियो होला, तर अब यस्तो गर्नु हुँदैन।

आँखामा कुनै पनि समस्या देखिए नजिकको आँखा उपचार केन्द्रमा गएर उपचार गर्नुपर्छ। मौसम अनुसार आँखामा धेरै खालका समस्या आउन सक्छन्। गर्मीको समयमा पाक्ने, चिलाउने अनि धूलोधुवाँका कारण एलर्जीको समस्या बढेको छ। त्यस्तै गाँउघरमा खेती थन्क्याउने समयमा र अन्य काम गर्दा आँखामा चोटपटक लाग्ने हुन्छ।

फुलो पर्नबाट जोगिन आफ्नो पेसाअनुसार हेरचाह गर्नुपर्छ। जस्तो, वेल्डिङ गर्नेहरूले अनिवार्य चस्मा लगाउनुपर्छ। धान काट्ने बेलामा बाला र त्यसको झुसले आँखामा छुन हुँदैन। त्यस्तो बेला आँखामा केही पर्‍यो भने तत्कालै सफा पानीले पखाल्नुपर्छ तर आँखा माड्न हुँदैन।आँखामा केही हुनसाथ पहिला सफा पानीले पखाल्नुपर्छ अनि आँखा उपचार केन्द्र जानुपर्छ।

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech