घाम ताप्नु पनि औषधि

    • डा. पुनेश्वर केशरी/आयुर्वेदिक चिकित्सक

  • १५ कार्तिक २०८०, बुधबार

सुन्दा सामान्य लाग्छ, तर घामको किरण मानव शरीरका लागि नभई नहुने तत्व हो । त्यसैले घाम ताप्नु भनेको स्वास्थ्यलाभ लिनु हो ।आयुर्वेदले यसलाई ‘सूर्य स्नान’ भन्छ । यो भनेको घामको पूर्ण सम्पर्कमा रहेर त्यसको न्यानो ताप्नु हो । शरीरका अधिकांश भागमा घामको स्पर्श हुनु हो । यसो गर्दा के हुन्छ ? मेलाटोनिन पाइनल ग्रन्थिले बनेको हार्मोन हो, जुन मस्तिष्कको सानो ग्रन्थि हो । मेलाटोनिनले निद्रा नियन्त्रण गर्न र चक्रलाई जगाउन मद्दत गर्दछ ।

प्रकाशले प्रत्यक्ष रूपमा शरीरले उत्पादन गर्ने मेलाटोनिनको मात्रालाई असर गर्छ । रगतमा मेलाटोनिनको स्तर रातमा उच्चतम हुन्छ र यसले हाम्रो सर्काडियन लयलाई सुधार गरेर स्वस्थ निद्रालाई बढावा दिन्छ ।

भिटामिन डीको स्रोत के हो ?

भिटामिन डीको प्राकृतिक स्रोत सूर्यको प्रकाश अर्थात् घाम हो । बिहानको घाममा पर्याप्त वा भरपुर मात्रामा भिटामिन डी हुन्छ । छालामार्फत लिने गर्छ । घामबाट पाइने भिटामिन डी बोसो तत्वमा घुलमिल हुने तत्व हो ।

दैनिक घाम ताप्न नसके पनि कम्तीमा हप्ताको एकदिन भए पनि शरीरमा तेल लगाए घाममा बस्नुपर्छ । यसले भिटामिन डीको कमी हुनबाट जोगाउँछ । यसबाहेक भिटामिन डीको स्रोतमा अण्डा, बन्डा, काउली, चीज, च्याउ, माछाको फोक्सो, फलफूलको सेवन नियमित खान सकेमा पनि शरीरमा भिटामिन डीको कमी हुन दिंदैन । अण्डामा पनि अण्डामा भएको भित्री पहेंलो भागमा भिटामिन डी हुन्छ ।

त्यस्तै माछामा ओमेगा-३ फ्याटी एसिड हुन्छ । जुन भिटामिन डीको भरपूर्ण स्रोत हो, भिटामिन डीको अर्को मुख्य स्रोत गाईको दूध पनि हो । स्वास्थ्यविद्हरुका अनुसार लो फ्याट दूधको सट्टा फुल क्रीम दूध सेवन गर्नुपर्छ । किनकि यसमा भिटामिन डी र क्याल्सियम हुन्छ । दहीको सेवनले पनि शरीरमा भिटामिन डीको कमी हुन दिंदैन ।

भिटामिनको डीको कमी

थकान र कमजोर महसुस हुने, हड्डीको दुखाइ महसुस हुने, निद्रा नलाग्ने, मासंपेशी दुख्ने, भोक नलाग्ने, कपाल झर्ने,केही नगर्दा पनि हातखुट्टा गल्ने, हातखुट्टा बागिंने लगायत लक्षण देखा पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर बारम्बार रोगको संक्रमण भइरहने हुन्छ । तर कहिलेकाहीं बाहिर रुपमा तन्दुरुस्त भए पनि वा लक्षण नदेखे पनि शरीरमा भिटामिन डीको कमी भएको हुन सक्छ ।

भिटामिन डी शरीरको हड्डी र छालाको लागि चाहिने महत्वपूर्ण तत्व हो । यसको कमीले हड्डी र छालासम्बन्धी समस्या हुन्छ । यदि बालबालिकामा भिटामिन डीको कमी भएमा उनीहरुको शारीरिक र मानसिक वृद्धिमा समस्या आउने गर्छ ।

कति बेर बस्ने ?

विशेषगरी भिटामिन डीको लागि बिहानको घाम सबैभन्दा फाइदाजनक हुन्छ । तर बिहानको घाममा बस्न समय नमिलेको खण्डमा साँझको घाममा पनि बस्न सकिन्छ । तर मध्य दिनको घाममा बस्नु हुँदैन । किनकि यसमा खराब विकिरण हुन्छ । यसले फाइदाको सट्टा छालामा समस्या ल्याउन सक्छ । त्यसैले सकेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्मको घाममा बस्नु राम्रो हुन्छ ।

यसबेलाको घाममा पर्याप्त मात्रामा भिटामिन डी हुन्छ । अध्ययनअनुसार कम्तीमा २० देखि २५ मिनेट र बढीमा दुई घण्टा बस्न सकिन्छ ।

कसरी बस्ने घाममा ?

भिटामिन डीका लागि घाममा बस्दा भित्री वस्त्र मात्र लगाएर शरीरभरि तोरीको तेल लगाएर बस्न सकिन्छ । यसरी बस्दा शरीरले भिटामिन डी सोस्न मद्दत गर्छ । तर लुगा लगाएर घाममा बस्दा भिटामिन डीको प्राप्ति हुँदैन ।

त्यस्तै घाममा लामो समय बस्दा शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले पानी वा झोलिलो खानेकुरा खाने गर्नुपर्छ । घाममा बसिसकेपछि तुरुन्तै चिसो ठाउँमा बस्ने, चिसो खानेकुरा खाइहाल्ने, एसी चलाएर बस्ने गर्नु हुँदैन । यस्तो गरेमा बेहोस हुन सकिन्छ ।

सनस्क्रिन लगाउनुपर्छ कि पर्दैन ?

कतिपय मानिसको छाला संवेदनशील हुन्छ । कसैलाई घामको एलर्जी छ भने त्यस्ता व्यक्तिले सनस्क्रिन  लगाउन सकिन्छ । तर समान्य छाला छ भने घाम ताप्दा शरीरमा तेल मात्र लगाए पुग्छ, सनस्क्रिन लगाउनु पर्दैन । किनकि तेलले कुनै पनि जीवाणु फंगस, ब्याक्टेरिया बढ्न सक्दैन । कृत्रिम मोइस्चराइजर लगाउनुभन्दा प्राकृतिक तेल लगाउनु उपयुक्त हुन्छ । संवेदनशील छाला भएकाले पनि बिहानको घाम ताप्न सकिन्छ । तर दिउँसोको घामबाट भने जोगिनुपर्छ ।

भिटामिन डी क्याप्सुल खानुपर्छ कि पर्दैन ?

शरीरमा भिटामिन डीको कमी देखिएमा क्याप्सुल खानुपर्छ । तर चिकित्सकको परामर्शअनुसार गराएर मात्र खानुपर्छ । यत्तिकै आफैंले फार्मेसीबाट किनेर खानुहुँदैन । किनकि यसको पनि डोज हुन्छ । तर सकेभर प्राकृतिक स्रोतबाट पूर्ति गर्न कोसिस गर्नुपर्छ ।

कमी किन हुन्छ ?

घाममा बस्ने बानी कमी, चाहेर पनि कामको व्यस्तताका कारण घाम ताप्न नपाएर, छाला कालो हुन्छ भनेर घाम नताप्दा हुन्छ । छालामा मेलानिन भन्ने तत्व हुन्छ । यसले मेलानिन कम भएका सेतो छालाको रंग सेतो हुन्छ भने र मेलानिन बढी भएमा छाला कालो हुने गर्छ ।

त्यस्तै बिहानको घाममा नवजात शिशुलाई तेल लगाएर ताप्ने परम्परा वा चलन थियो । तर आजभोलि त्यो हराउँदै गएको छ । यसले गर्दा पनि अहिले बालबालिकामा भिटामिन डीको कमी देखिन्छ ।

शरीरमा क्याल्सियमको कमीले पनि भिटामिन डीको कमी हुन सक्छ । त्यसैले क्याल्सियमको कमी हुन नदिन दूध, मासी, कुरकुरे हड्डी खाने गर्नुपर्छ । भिटामिन डीको कमी छ कि छैन भनेर थाहा पाउन ४० वर्ष कटेका महिला र पुरुषले कम्तीमा वर्षको एकपटक स्वास्थ्य जाँच गराउनुपर्छ ।

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech