काठमाडौं: उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ। चीनको भ्रमणका क्रममा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत हुनुहुन्छ ।
उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थाल्नुभएको उहाँका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो। हृदयाघात भएपछि उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ।
यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभएको थियो ।