किन लाग्छ रिँगटा ? रिँगटा लाग्नासाथ के गर्ने ? 

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०८०, मंगलवार

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरुले खानपानमा ध्यान दिन सकिरहेको अवस्था छैन । खानपानमा ध्यान नदिदा हामीलाई अनेकन समस्याहरु हुने गर्दछन् । यस मध्यको रिँगटा लाग्नु पनि एक प्रमुख समस्या हो ।

रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्यधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउकोको चोटलगायतका कारणले रिँगटा लाग्ने गर्दछ ।

विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा. हरिहर खनाल बताउँछन् । पुरुष र महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा रहेको र मृत्यु हुनेहरूमध्ये धेरै विकासोन्मुख देशका विपन्न वर्गका जनता परेको देखिन्छ ।

डा. खनालका अनुसार अहिले सबै भन्दा बढी उच्च रक्तचाप र फेरिँदै गएको जीवनशैलीका कारण हजारै मानिस मटुको रोगले ग्रस्त रहेको पाइएको छ । यसैले यस्ता लक्षण देखिए तत्कालै चिकित्सकसँग परामर्श लिने, मुटु र रक्तचापको परीक्षण गरिहाल्नुपर्ने उनको सुझाव छ ।

मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मस्तिष्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खानेकुरा तथा औषधिको एलर्जी, माइग्रेन, ब्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले कारणले पनि रिंगटा लाग्नसक्छ ।

टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् । यसलाई वेवास्ता गर्दा कहिलेकाँही बिरामीको अचानक ज्यान जानसक्ने खत्तरा पनि उत्तिकै हुने गर्दछ ।

 रिँगटा लाग्नुका केही कारण यस्ता छन् :

– कानमा शरीरलाई सन्तुलनमा राख्ने नसा हुन्छ । त्यसैले उक्त नसामा समस्या भएमा हामीलाई रिँगटा लाग्न सक्छ ।

– आँखाको समस्याले पनि रिँगटा लाग्न सक्छ । हाम्रो रिफ्लेक्टिभ पावर असन्तुलित भएर आवश्यकभन्दा कम वा बढी भयो भने रिँगटा लाग्न सक्छ । यदि कुनै कारणले दिमागमा रगत जम्न गयो भने पनि रिँगटा लाग्न सक्छ ।

– उच्च रक्तचाप वा कम रक्तचाप हुँदा पनि दिमागमा रगतको प्रवाहमा असर पुग्छ, जसका कारण रिँगटा लाग्ने हुन्छ ।

– मुटुको धड्कन कम हुँदा वा रगतको सर्कुलेसन नियमित नहुँदा वा मुटुले रगत पम्प गर्न नसकेमा पनि हुन्छ ।

– शरीरमा ग्लुकोजको मात्रा कम भएमा वा बढी हुँदा पनि रिँगटा लाग्न सक्छ । एक्कासि धेरै तातो ठाउँमा बस्दा वा हिँड्दा पनि रिँगटा लाग्छ ।

– त्यसैगरी, खानपानमा कमी, झाडापखाला हुँदा, बान्ता, उच्च ज्वरो, धेरै गर्मीसँगै पानी कम पिउने वा बढी काम गर्दा पनि शरीरमा पानी कम भई रिँगटा लाग्छ ।

– शरीरमा कडा खालको दुखाइ भएमा पनि रिँगटा लाग्छ ।

जटिल अवस्था 
टाउको दुखेर रिँगटा लागेमा, बारम्बार वा लामो अवधिसम्म रिँगटा लागिरहेमा, सुन्ने शक्ति र दृष्टिमा समस्या देखिएमा, हातखुट्टा कमजोर भएको महसुस भएमा, छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा, टाउकोमा चोट लागेमा, छारेरोग, घाँटी कडा हुने समस्या भएमा तत्कालै चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

रिँगटा लाग्नासाथ के गर्ने ? 
– आराम गरेर बस्ने, हलचल नगर्ने ।
– शारीरिक अवस्था चाँडो–चाँडो परिवर्तन नगर्ने ।
– बढी चम्किलो प्रकाशमा नहेर्ने ।

रोकथाम र उपचार 
शारीरिक सन्तुलनका लागि खानपानलाई सन्तुलित बनाउने । बारम्बार रिँगटा लाग्छ भने बसेर उठ्दा नजिकैको चिज समातेर उठ्ने । रिँगटा लाग्ने समस्या छ भने मेसिनरी सामग्रीको नजिक रहेर काम नगर्ने । ड्राइभिङ नगर्ने, पौडी नखेल्ने । रिँगटा लाग्ने धेरै कारण भएकाले पहिले कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

  • ३० आश्विन २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech