सामान्य तरिकाले बुझ्ने हो भने भेन्टिलेटर भनेको कृत्रिम श्वासप्रश्वास दिने मेसिन हो। कसैलाई श्वास फेर्न गाह्रो भयो भने अथवा जे कारणले भए पनि भेन्टिलेटरमा राख्न पर्ने अवस्था आयो भने उसको श्वासप्रश्वासमा मद्धत गर्ने मेसिन हो।
भेन्टिलेटर भन्नसाथ आइसियुसँग जोडिन्छ। भेन्टिलेटरमा राख्नुका केही कारणहरू हुन्छन्। कसैलाई श्वास फेर्न गाह्रो भयो, फोक्सोमा असर पर्यो भने बिरामीलाई भेन्टिलेटरमा राखिन्छ। श्वास फेर्दा चाहिने अक्सिजन भएन भने अनि चाहिने जति कार्बनडाइअक्साइड फाल्न सकेन भने पनि भेन्टिलेटर चाहिन्छ। अर्थात् फोक्सोको कामलाई सहयोग गर्न एउटा मेसिनमा राखिन्छ, त्यो भेन्टिलेटर हो।
भेन्टिलेटरमा राखेपछि बिरामी अब नफर्किने हो कि भन्ने आशंका धेरै गरिन्छ। तर त्यो तरिकाले बुझ्नु हुँदैन। भेन्टिलेटरले जीवन लिने होइन कि जीवन दिन्छ। श्वास फेर्ने प्रक्रियालाई सन्तुलन मिलाउन बिरामीलाई भेन्टिलेटरमा राख्ने हो।
आइसियुमा रहने टिमलाई नै बिरामीलाई कहिले भेन्टिलेटरबाट निकाल्न सकिन्छ भन्ने चासो हुन्छ।
भेन्टिलेटरमा बिरामीलाई राखिएको थाहा पाउनसाथ परिवार, आफन्त, साथीभाइ र शुभचिन्तकहरू भेट्न आउनु स्वाभाविक हो। यसलाई नियन्त्रण गरेर आवश्यक मात्रामा भेट्न जान दिनु आइसियु टिमको जिम्मेवारी हुन्छ।
सघन उपचार कक्ष भन्नसाथ साधारण बिरामी राखिएको हुँदैन। त्यस्तो बिरामी एउटा मात्रै हुँदैन। त्यसैले एकैपटक धेरैले भेट्दा अरू बिरामीलाई समेत असर गर्न सक्छ। यसको मतलब आइसियुमा रहेका बिरामीलाई कसैले भेट्न समेत हुँदैन भन्ने होइन। आइसियुमा बसेर अत्तालिएको बिरामीले आफ्ना नजिकका व्यक्ति भेट्दा उसलाई थप सजिलो हुन्छ। आफूले आँखा खोल्दा प्रियजनको अनुहार देख्दा बिरामीको ऊर्जा बढ्न सक्छ। यसो भन्दैमा धेरैले भेट्न भने हुँदैन। आइसियुका बिरामीलाई भेट्न एउटा समय तोकिएको हुन्छ।
भेन्टिलेटरबाट निको भएका बिरामी आफैंमा जोखिममा हुन्छन्। त्यसैले केही समय उनीहरूको उच्च निगरानी जरूरी रहन्छ। बिरामीको श्वासप्रश्वासको अवस्था कस्तो छ, बिरामीलाई गाह्रो भएको छ कि छैन लगायतका समस्यालाई ख्याल गरिन्छ। भेन्टिलेटरबाट निस्किन साथ २४ देखि ४८ घण्टा बिरामीको विशेष ख्याल गर्नुपर्छ।