नेपालगन्जः मनाङ एयरको ९ एन(एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ । शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उहाँलाई थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर मुम्बईमा पठाइएको हो।
मुम्बई पठाउनु अघि ह्याम्स अस्पतालमा उहाँको उपचार भएको थियो । उहाँको उपचार इमर्जेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालका अनुसार उहाँको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ।
साथै उहाँको फोक्सो, मेरूदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत् अस्पतालले जानकारी दिएको छ। उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको अस्पतालले जनाएको छ। हाई अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो।