नेपालगन्जमा अगुवा व्यवसायीले भने-`औंषधि व्यवसाय संवेदनशील हो, इमानदार बनौं´ 

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

नेपालगन्ज: औषधि व्यवसायलाई मर्यादित बनाउन सम्बन्ध व्यवसायीका अगुवाहरुले जोड दिएका छन् । नेपाल औषधि व्यवसायी संघ बाँकेको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्ने संघको नेतृत्वमा रहनु भएका अगुवाहरुले औषधि व्यवसायलाई मर्यादित बनाउन जोड दिएका हुन् ।

औषधि व्यवसायलाई मर्यादित बनाउन सबै औषधि व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले  त्यसैअनुसार आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्न उनीहरुले सुझाव दिए । औषधि व्यवसाय निकै संवेदनशील व्यवसाय भएकाले गुणस्तरीयतामा ख्याल गर्न पनि उनीहरूको जोड छ ।

सरकारले औषधि व्यवसायीका निमित्त बनाएका नीतिगत कुराहरुलाई सबै व्यवसायमाझ लैजानु पर्ने जरुरी रहेको पनि उनीहरुको भनाइ छ । संघले व्यवसायीका हकहितको सवालमा प्रभावकारी भूमिका निभाउनु पर्नेमा उनीहरु सहमत थिए । साथै उनीहरुले व्यवसायीक एकतामा भने जोड दिए ।

औंषधि व्यवस्था विभागले दु:ख दिएको भन्दै उनीहरुले आक्रोश समेत पोखेका थिए । विभागले अनुगमनका नाममा व्यवासायीलाई दु:ख दिने काम गरेको उनीहरुको भनाइ छ । उनीहरुले गलत नगर्न व्यवसायीलाई आग्रह गर्दै व्यवसायीक इमानदारमा पनि जोड दिए ।

`व्यवसायीक इमानदार हुने हो भने विभाग विरुद्ध लड्न सहज हुन्छ´- उनीहरुको भनाइ छ। नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालले संघले सरकारले ल्याउन लागेको औंषधि सम्बन्धि बिधेक व्यवसायीक हित विपरीत भएको बताउनुभयो ।

उहाँले यस्ता बिधेकले औंषधि व्यवसाय बन्द हुने स्थिति रहेकाले संघले त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।  उहाँले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भैरहेको दुर्ववहार प्रति खेद प्रकट गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सचिब कृष्ण बहादुर रोकाय, केन्द्रीय सदस्य सरला कुमारी विष्ट, केन्द्रीय सदस्य भुवनेश्वर बुढामगर, संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, कोषाध्यक्ष सुदीप खड्का, नेपाल औंषधि व्यवस्था विभाग नेपालगन्जका प्रमुख निनु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यस्तै कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्क बस्नेत, बर्दियाका अध्यक्ष सुरेस कुमार रेग्मी, संघ दाङका अध्यक्ष बिष्णु पौडेल, सचिब सुनिल रेग्मी, नेपाल औषधि व्यवसायी संघ भेरीका पूर्व अध्यक्ष भारती जोशी, पिन नेपालगन्जका सचिब बिशाल बिक्रम बर्मा लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।

अधिवेशनमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवाल, केन्द्रीय सदस्य भुवनेश्वर बुढामगर, संघका लुम्बिनी प्रदेश उपाध्यक्ष अभय कुमार बस्नेतलाई सम्मानित गरिएको थियो । संघका बाँके अध्यक्ष बसन्त कुमार शर्माको अध्यक्षतामा भएको उक्त अधिवेशनको संचालन महासचिव जीवन शर्माले गर्नुभएको थियो ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech