नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताउनुभयो ।
उहाँले आफूसँग रिसाएका नेताहरु दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताउनुभयो। देशभरी स्वास्थ्यका भवनहरु शिलान्यास भए पनि एउटा पनि उद्घाटन नभएको उहाँको भनाइ थियो।
स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भए पनि लिएर प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।