नेपालगन्जः कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा आज वृह्त सरसफाई गरिएको छ । ‘कोहलपुर नगर, सफा राख्ने सबैको रहर’ भन्ने मुख्य अभियानका साथ वडा नं. १२ बाट सुरु भएको वृह्त सरसफाई अभियानको तेस्रो श्रृङ्खला अन्तर्गत आज हवल्दारपुरमा वृह्त सरसफाई गरिएको हो ।
वडा कार्यालय, नगर प्रहरी, ज्ञानेदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, आवासका लागि सहयोग समूह, त्रिवेणी विकास समाज, जनहित त्रिवेणी कृषि सहकारी, दिगो कृषि सहकारी, प्रतिभा महिला विकास, शम्शेरगन्ज खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हवल्दापुर कृषि हाटबजार संचालन समिति, श्रीराम माध्यामिक विद्यालय लगायतको आयोजनामा हवल्दारपुर चोकबाट सफाई सुरु भएको थियो ।
जनप्रतिनिधि, नगर प्रहरी, संघसंस्थाका अगुवा, स्थानीयबासीहरुले झाडु लगाएर सफाइ गरेको ज्ञानेदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव एकराज शर्माले जानकारी दिनुभयो । कोहलपुर नगरपालिकालाई सफा र सुन्दर बनाउनका लागि वृह्त सरसफाई अभियानले सकारात्मक सन्देश प्रवाह गरेको नगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडाअध्यक्ष नमबहादुर आलेले बताउनुभयो ।
आफ्नो घरआगन तथा टोल सफा सुग्घर राखियो भने आकर्षक पनि देखिने र विभिन्न खाले रोगको संक्रमणबाट पनि जोगिने भएकाले सरसफाईमा ध्यान दिन उहाँले वडाबासीलाई आग्रह समेत गर्नुभयो । आफ्नो टोलको सरसफाई टोलबासीले नै गर्नुपर्ने भन्दै उहाँले सरसफाईप्रति सजक रहनपनि सुझाव दिनुभयो । वृह्त सरसफाई अभियानको दोस्रो श्रृङ्खला वडा नं. ३ र ४ को संयुक्तरुपमा मदनचोकमा सम्पन्न भएको थियो ।