के हो बोनम्यारो ? प्रत्यारोपण कसरी गरिन्छ ?

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०८०, सोमबार

बोनम्यारो अर्थात् चलनचल्तीको भाषामा यसलाई रगत मासी भनिन्छ । बोनम्यारोको काम शरीरभित्र खासगरी रातो र सेतो रक्तकोष निर्माण गर्नु हो । रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोष अर्थात् डब्लुबीसीले रोगप्रतिरोधात्मक क्षमतामा काम गर्छ । प्लेटलेटले रगत बग्न रोक्ने काम गर्छ । त्यस्तै रोगसँग लड्न इम्युनिटी अर्थात् इम्युनिग्लोबिन तत्व निर्माण गर्ने कोषिका पनि यही बोनम्यारोबाट बन्ने गर्छ । यसबाहेक अन्य रोग विभिन्न कोषिका पनि यही बोनम्यारोबाट निर्माण हुने गर्छ । बोनम्यारो र यसको प्रत्यारोपणका विषयमा वरिष्ठ बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. सुधीर सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

बोनम्यारो प्रत्यारोपण कसरी गरिन्छ ?

साधारण भाषामा शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया भन्ने बुझिन्छ । यदि शरीरमा भएको बोन म्यारो अस्वस्थ वा त्यसमा केही समस्या देखिएमा नयाँ प्रत्यारोपण गर्नुपर्ने हुन्छ । आजभोलि यसलाई ब्लड एण्ड म्यारो ट्रान्सप्लान्ट वा स्टेमसेल ट्रान्सप्लान्ट पनि भनिन्छ । यसको प्रमुख उद्देश्य बढिरहेको कोषिकालाई बोनम्यारोमा राख्नु हो ।

बोनम्यारो प्रत्यारोपण धेरै तरिकाबाट गर्न सकिन्छ । पहिलो व्यक्ति स्वयंको शरीरको अन्य भागको कोषिका प्रयोग गरेर गर्न सकिन्छ । जसलाई अटोलोगस रगत ट्रान्सफ्युजन भनिन्छ । यदि यो सम्भव नभएमा परिवारको सदस्यबाट स्टेमसेल लिइन्छ । जस्तै दाजुभाइ, दिदीबाहिनी, आमाबुवा र एकदम नजिकका नातेदारबाट लिने गरिन्छ । अम्बिलिकल कर्ट अर्थात् नाभी । बच्चाहरु जन्मिने बित्तिकै उसको नाभीबाट जुन अम्बिलिकल कर्ट हुन्छ, त्यसलाई जोगाएर राख्न सकिन्छ । यदि त्यो जोगाएर राखेको छ भने त्यसमा एचएलए मिलाउन सकिन्छ । यसबाट पनि भएन वा स्टेमसेल चिन्दै नचिनेको मान्छेहरुको पनि प्रयोग गरिन्छ ।

बोनम्यारो प्रत्यारोपण गर्नुअघि के कुरामा ध्यान दिनुपर्छ ?

ब्लड ग्रुपजस्तै बोनम्यारोको एचएलए टाइपिङ हुन्छ । बोनम्यारो प्रत्यारोपणको लागि एचएलए मिल्नुपर्ने हुन्छ । यो दुई प्रकारले मिलाइन्छ, पूरा र आधा । यदि एचएलए पूरै मिलेको छ भने १०-१० भन्ने गरिन्छ र एचएलए १० भन्दा कम मिलेको छ भने त्यसलाई आधा मिलेको मानिन्छ । कहिलेकाहीं एचएलए पूरा म्याच नभए खण्डमा हाफ म्याच भएको छ भने पनि प्रत्यारोपण गर्ने गरिन्छ । तर फुल म्याचमा समस्या आउने सम्भावना कम हुन्छ भने हाफ म्याचमा पुन: प्रत्यारोपण पनि गर्नुपर्ने हुन सक्छ ।

कसरी जोगाउन सकिन्छ बोनम्यारो ?

कुनै बालबालिकालाई क्यान्सर रोग लागेको छ भने त्यसलाई निको पार्न कडा खालको किमोथेरापी वा रेडियोथेरापी चलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा बोनम्यारोको जुन स्टेमसेल हुन्छ, त्यो पहिल्यै निकालेर सुरक्षित तरिकाले फ्रिज गरेर राख्न सकिन्छ । त्यसपछि क्यान्सरको उपचारको क्रममा गरिने किमोथेरापी वा रेडियोथेरापी गरिसकेपछि निकालेर स्टेमसेल पुन: राखिन्छ । यसले कडा खालको औषधिको साइड इफेक्ट जोगाउन मद्दत गर्छ ।

बोनम्यारो प्रत्यारोपण कस्तो अवस्थामा गर्नुपर्ने हुन्छ ?

खासगरी बोनम्यारो प्रत्यारोपन दुई कारणले गर्नुपर्ने हुन सक्छ, क्यान्सररोग र अन्य रोग । रक्त क्यान्सरका बिरामी, जसमा क्यान्सर बल्झिएको छ र उपचार गरिरहँदा पनि शरीरमा क्यान्सरका कोषिकाहरु कम नभएमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

त्यस्तै थालासेमिया वंशाणुगत (जस्तै, आमाबाबुबाट बच्चाहरूलाई जीनमार्फत सर्ने) रोग लागेमा, वंशाणुगतकै कारण बोनम्यारो फेल भएको अवस्थामा पनि बोनम्यारो प्रत्यारोपण गर्नुको विकल्प हुँदैन ।

त्यस्तै रोगप्रतिरोधात्मक क्षमता कम भएर बारम्बार संक्रमण भइरहने, बारम्बार निमोनिया हुने, सानो घाउचोट पनि चाँडै निको नहुने समस्या भएका बालबालिकामा पनि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

बोनम्यारो प्रत्यारोपण गर्न कति खर्च लाग्छ ?

बोनम्यारो प्रत्यारोपणका लागि भारतमा लगभग ४० देखि ५० लाख खर्च हुन्छ । नेपालमा भने करिब २० लाख रुपैयाँमा गर्न सकिन्छ ।

प्रत्यारोपण गरिसकेपछि पूर्ण रुपमा निको हुन्छ ?

यदि एचएलए १०-१० म्याच भएको छ भने उनीहरुमा निको हुने सम्भावना ९० प्रतिशत हुन्छ । तर एचएलए हाफ म्याच अर्थात् ५०–६० प्रतिशत मिलेमा निको हुने सम्भावना ५० देखि ८० प्रतिशत मात्रै हुन्छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि अन्य अंग प्रत्यारोपण जस्तै जीवनभर औषधि सेवन गरिरहनुपर्दैन ।

  • २२ आश्विन २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech