अघिल्लो सप्ताहन्ततिरको एक साँझ म स्कुलबाट फर्केर कोठाभित्र छिरेको मात्रै थिएँ, भाइ एकोहोरो बोल्न थाल्यो, ‘यस्तो नाथे चुतिया मान्छेहरु ! यस्तो नाथे सामाजिक सञ्जाल ! को मान्छे केसँग जुधिरहेको छ ! कुन मनोदशासँग संघर्ष गरिरहेको छ; उनीहरुलाई छुः मतलब !बस् एकोहोरो मनपरी गाली गरेको छ ! कुन्ठा ओकलेको छ ! जुन कुरा मान्छेको सबैभन्दा ठूलो ‘इन्सेक्युरिटिज’ हो त्यसैमा प्रहार गरेको छ ! यस्ता नाथे सामाजिक चेतना !’
म एकछिन त उसले के भनिरहेको भन्ने नै ठम्याउन नसकेर अलमल परेँ। पछि भाइले टिकटकमा सक्रिय एकजना युवतीले अघिल्लो दिनसम्म वसन्तपुर घुमेको भिडियो बनाएर पोस्ट गरेको,खुसी नै देखिएको तर अर्को दिन उसले अप्रिय निर्णय लिएको समाचार आएको सुनायो। संयोगवश अघिल्लो साँझ म उनै मुनको टिकटक प्रोफाइल खुब रुचीका साथ चहारिरहेको थिएँ। म पनि झस्किएँ।
मैले ठ्याक्कै प्रोसेस गर्न सकिँन। जीवनको कुनै न कुनै फेजमा आघातपूर्ण अनुभूतिहरु लिइ जिन्दगीसँगै डराइ डराइ बाँचेर आएकाहरुलाई यस्ता अप्रिय घटनाहरुले पुनः ट्रिगर गर्नु अनौठो होइन होला । त्यसपछिको दुई दिन म मनोवैज्ञानिक रुपले अस्थिर, असन्तुलित र सकसमा रहेँ। घरीघरी गएर टिकटक हेरेँ । त्यसमुन्तिर आएका कमेन्टहरु पढेँ । यहाँ भन्दा अगाडि हुनसक्ने सम्भावित दुर्घटनाको भयले सशंकित हुँदै सञ्जालबाट पर बस्ने वाचा पनि गरेँ तर सकिनँ र पुनः फर्किएर यो ब्लग लेख्दैछु। म चाहन्छु; यसको भेट तपाईंले आफूलाई सम्हाल्न सकिरहेको अवस्थामा होस्।
अक्सर यस्ता अप्रिय घटनाहरु घटिसकेपछि ‘मानसिक स्वास्थ’ सम्बन्धी बहस यसरी सतहमा आउँछ; जस्तो समुन्द्रमा आँधी आएको बखत किनारमा छालहरु उर्लिन्छन्। जो पुनः आँधीसँगै शान्त भएर सकिइ जान्छन्। यस्तो प्रतिक्रियाको चाङमा, कसैले यति अप्रिय निर्णय गरेर जानेहरूलाई दोष लगाउँदै जीवन कति अमूल्य चिज हो भनेर प्रवचन दिन्छन् त कोही उसलाई सुनिदिनुपर्थ्यो भनेर पश्चाताप व्यक्त गर्छन् । जताबाट, जसरी र जे-जे भनेपनि मानिसहरुका तर्क/वितर्कको सार आउँछ; ‘मानसिक स्वास्थ मान्छेको व्यक्तिगत समस्या हो! त्यसमा उसलाई हामीले सहयोगी भूमिका निर्वाह सुनिदिनुपर्थ्यो ।’
तर एउटा मानिस मनोवैज्ञानिक रुपमा अस्वस्थ हुनुमा उ भन्दा ज्यादा, उ हुर्केबढेको परिवेश, उसले पाएको सामाजिक/आर्थिक/राजनीतिक लगायत वातावरण जिम्मेवार हुन्छ भन्नेबारे किन सोचिन्न ? म गम खाइरहन्छु। एउटा व्यक्तिको जीवनमा घट्ने सम्पूर्ण घटनाहरुमा उसको सबैखाले पृष्ठभूमि उत्तिकै जिम्मेवार रहन्छ। यसर्थमा एउटा व्यक्तिको अस्वस्थतामा समाजका रुपमा, राज्यका रूपमा हामी सबै नै जिम्मेवार छौँ । हाम्रो चेतना र अभ्यास पनि जिम्मेवार छ । जति अबेर गरेर हामी यो कुरा स्विकार गर्छौं; त्यति धेरै यस्ता अप्रिय र आघातपूर्ण निर्णयहरु कहिँ न कहिँ कसै न कसैले लिइरहेको हुनेछ।
मलाई व्यक्तिगत रुपमा बारम्बार महसुस हुने कुरा के हो भने, विभिन्न मुद्दाहरुमा हाम्रा बुझाइहरु निकै कमसल र सतही हुँदै गइरहेका छन् । हाम्रो चेतना निर्माण घटना केन्द्रित दृष्टिकोणबाट मात्रै भएको छ। हामी एकै खालका घटनाहरुलाई पनि समग्रतामा हेरेर, संगठित संघर्ष र प्रयत्न गर्नुको साटो हरेक घटनालाई एक्लै एक्लै केन्द्रमा राखेर प्रतिक्रियात्मक बनिरहेका छौँ । जसले हामीलाई कुनै पनि हालतमा समाधान उन्मुख बनाएर लैजाने छैन । बरु हाम्रा सारा उर्जा र प्रयत्न बालुवामा पानी खन्याए जस्तो भएर जानेछ। अतः एउटा बिन्दुमा आएर हाम्रो वकालत थाक्नेछ। र लिक छोडेर कतै अलप हुनेछ।
राज्य र यसका अवयवहरू कसरी मानसिक स्वास्थ खल्बलाउन भूमिका खेल्छन् ?
मलाई लाग्छ; जुन राज्यको सामाजिक चेतना निम्छरो र कमसल छ त्यहाँ मान्छेले समानुभूति अभ्यास गर्न सक्दैन। त्यहाँ मानिसहरु सौहार्द्ध हुँदै हुँदैनन्; कुनैपनि हालतमा। जुन राज्यको सामाजिक अभ्यासमा विभेदका अनेक स्वरुपहरु जिउँदै सल्बलाइ रहेका हुन्छन्, त्यहाँका मानिसहरुको मानसिक स्वास्थ कुनै पनि हालतमा ठिक हुँदैन। यस्तो सामाजिक चेतनामा शारीरिक/मनोवैज्ञानिक, आर्थिक, सामाजिक अत्याचार अत्यन्तै क्रुद्ध हुन्छ। शक्तिशालीले शक्तिहिनलाई थिचोमिचो गरिरहन्छ। यस्तै थिचोमिचो (बुलिङ)मा परिरहेका हुन्छन्, मुनहरु। यस्तै बुलिङमा परिरहेका छन् संरचनागत लाभांशको पिँधमा परेका; दलित, महिला, गरिब, सीमान्तकृत, नश्लीय राज्यले अनागरिक बनाएका युवाहरू लगायत। सामाजिक न्यायचेत सून्य समाजमा मान्छेले आफूभन्दा वर्गीय, लैङ्गिक, भौगोलिक रुपमा कमजोर र पछि पारिएकाहरुमाथि निरन्तर हिंसा र अपराध मच्चाइ रहन्छ। यसरी निरन्तर पिल्सिएका मानिसहरुको मानसिक स्वास्थ कसरी ठिक रहन्छ?
पछिल्लो समय हामीले सामाजिक सञ्जालमा देखेका अराजक टिप्पणीहरु, अश्लील र भद्दा प्रतिक्रियाहरु अधिकांश किशोरी, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक, सीमान्तकृत समुदायका मानिसहरु लक्षित छन् । जसले मुनलाई, निकिशा र गङ्गु (एक किशोरी जसलाई अहिले पनि एउटा परपिडक जत्थाले उनको टिकटक भिडियोहरुमा ’वेटिङ फर कान्ड’ कमेन्ट जताततै लेखेर निरन्तर ह्यारास गरिरहेको छ) हरुलाई निशाना साँधिरहन्छ। जसले उनीहरुको मानसिक स्वास्थलाई दिनदहाडै हाम्रो आँखै अगाडि जलिल गरिरहेका छन्। हामी निरीह बसिरहेका छौँ। एक्लै एक्लै त्यस विरुद्ध लड्ने हिम्मत छैन। संगठित प्रयत्न गर्ने चेतना पनि कमजोर छ!
यस्तो बिषाक्त अभ्यासमा अभाव, अपमान, घृणा, शोषण र बहिष्करणमा पारिएकाहरुको मानसिक स्वास्थ केका आधारमा र कसरी सन्तुलित रहन्छ? उनीहरुमाथि यो सब भइरहँदा चुपचाप मुकदर्शक बस्ने राज्य र राज्यका सारा अवयवहरुले अप्रिय र आघातपूर्ण निर्णयहरु दुरुत्साहन गरिरहेका छैनन् कसरी भन्ने?
एक बाट अर्को गरि सदियौँ अन्याय र अपराध पुस्तान्तरण गरिरहेको सामाजिक अभ्यास कसरी हाम्रो मानसिक स्वास्थ अनुकुल छ? हाम्रा बुझाइ र वकालतहरु पक्षपाती छन् ।
विश्व स्वास्थ संगठनले परिभाषित गरे अनुरुप पनि एउटा व्यक्ति त्यतिबेला मात्रै स्वस्थ मानिन्छ जतिबेला उ शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा सन्तुलित रहन्छ । यसर्थ पनि ‘मानसिक स्वास्थ’ सबैको चासो र चेतनाको विषय बन्नुपर्ने हो । हरेकको पहुँचमा मानसिक स्वास्थसम्बन्धी सचेतना पुग्नुपर्ने हो। यद्यपि हामी बाँचिरहेको समाजिक परिवेशमा त्यस्तो अभ्यास भइरहेको छ त? अहँ ! पटक्कै छैन।
हामी बाँचिरहेको यो समय र परिवेशमा, उत्पीडन र शोषणको चरम उत्कर्षमा पिल्सिएर घिड्घिडाइ रहेका जिन्दगीहरुको ‘मानसिक स्वास्थसम्बन्धी चेतना’ सँग धेरै पर–परसम्म कुनै साइनो छैन । उनीहरु मानसिक सन्तुलन गुमाएर कोहि खोरमा बाँधिएर बन्दी बनाइएका छन् त कतिले आफूलाई के भइरहेको हो भन्ने थाहै नपाई आफ्नो इहलिला समाप्त गरेका छन् । यस्तो हुनुमा पुनः हाम्रो सामाजिक चेतना, अभ्यास र पक्षपातपूर्ण व्यवहार नै जिम्मेवार छ। राज्यको राजनीतिक, सामाजिक, आर्थिक अभ्यास जिम्मेवार छ।
हामी मानसिक स्वास्थबारे बहस त्यतिबेला मात्रै गर्छौं, जतिबेला अलिकति नाम चलेका मानिसहरु मानसिक अस्वस्थताको सिकार बन्छन्। तर त्यतिबेला यो पटक्कै चर्चाको विषय बन्दैन जतिबेला भोकमरी खप्न नसकेर एकल आमाहरुले आफ्नो कलिला सन्तानसँगै नदीमा हामफालेको समाचार छापिन्छ। के उनीहरुको मानसिक स्वास्थ हुँदैन? के हाम्रो वकालत पक्षपाती होइन?
प्रेममा,सम्बन्धमा धोका,आघात, व्यक्तिगत जीवनका असफलताहरुले चिमोटेर, पारिवारिक जिम्मेवारी, सामाजिक लान्छना, अनलाइन बुलिङ लगायतका आघातहरुबाट थाकेर अप्रिय निर्णय गर्नेलाई ‘आत्महत्या समाधान हैन !’ भन्ने हामी राज्यद्वारा आफ्नो अधिकार कुन्ठित गराइएपछि मनोवैज्ञानिक रुपमा गिजोलिएर आत्महत्याको बाटो रोज्ने २२ वर्षीय निरजकुमार झाको मानसिक स्वास्थप्रति चाहिँ समानुभूति किन राख्दैनौँ? आफ्नै देशमा अनागरिक बनाइएपछि निरन्तर संघर्ष गर्दागर्दै अत्यासले गाँजेपछि आत्मदाहको बाटो खोज्ने निरज कामतहरुप्रति किन संवेदनशील हुँदैनौँ ? बलात्कार पश्चात् बलात्कारीलाई नै जिम्मा लगाइएकी १३ वर्षिय नावालिग अंगीरा पासीले आफैंलाई झुन्ड्याएको समाचारमा किन उद्देलित हुँदैनौँ?
मेरो भन्नु यत्ति हो; मानसिक स्वास्थजस्तो संवेदनशील विषय सामाजिक न्यायसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ। समाजको चेतनासँग अन्तरसम्बन्धित रहन्छ। यति वृहत् बिषयलाई एउटामात्रै पक्षसँग जोडेर हेर्नुले खास समस्या पहिचान र निदानसँग बेखबर रहनु हो भन्ने लाग्छ। जसले पुनः हामीलाई विकराल समस्याको गोलचक्करमा घुमाइ रहन्छ। हामी साँच्चिकै मानसिक स्वास्थप्रति संवेदनशील छौँ भने हामीले सामाजिक न्यायका सम्पूर्ण पक्षहरुमा समानुभूति राखेर सँगसँगै काम गर्नुपर्छ। नत्र त मानसिक स्वास्थ वकालत फगत बौद्धिक बिलासिता र प्रतिक्रियात्मक गतिविधिको रोमान्टिसिज्मबाहेक केही रहँदैन।