नर्स र नर्सिङ पेशासँग साक्षात्कार गरेको पनि एक दशक हुन लागेछ । अहिले विभिन्न सञ्चारमाध्यममा एक जना नर्स जो दिनरात नभनी आफनो कर्तब्यमा लागिरहेकी छिन् उनैलाई गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिरहेको देखें । त्यसैले यो लेख लेख्न मन लाग्यो ।
नेपालमा अन्तराष्ट्रिय मापदण्ड लागु गर्ने त परको कुरा भएको न्युनतम दरबन्दी पनि पूरा नभएका बेला सबैभन्दा बढी मारमा नर्सहरु पर्ने गरेका छन्। जसले गर्दा एक जना नर्सले दिनमा ५०\६० जना भन्दा बढी बिरामी हेर्नुपर्ने हुन्छ । यो अवस्थामा कहींकतै बिरामीको सेवामा कमी रहनु स्वभाविक नै हो । किनकी यो नर्सले चाहेर भएको होइन । एक जना बिरामीलाई औषधि दिन सुरु गर्दा अर्को बिरामीकोमा पुग्दा सम्म केही समय लाग्न सक्छ यसलाई नर्सको रहरको रुपमा वा लापरवाहीको रुपमा हेरिनु निन्दनीय छ । यसकाे व्यवस्थापन सम्बन्धित अस्पतालले गर्नुपर्ने हो ।
बिरामीको चापमा सधैं चेपिने नर्सलाई गालीगलौज गर्नु कत्तिको जायज हो । नर्स नै जन्म, मृत्यु र महामारी वा संकटका बेला साक्षी हुन्। अग्रपंतीका खेलाडी हुन्। कोरोना महामारीका बेला सबै जना घरमा बसिरहेका बेला नर्सले आफनो ज्यानको बाजी लगाएर दिनरात बिरामीको सेवा गरेको कुरा सबैलाई जानकारी नै छ । उनीहरु आफनो पेशामा अडिग रहेर बिरामीको सेवाबाट पछि हटेनन । थोरै पारिश्रमिकमा पनि काम गरिरहे । समाजले हेयको दृटिकोणले हेर्दा पनि बिरामीको सेवा गर्न छोडेनन्। दिनरात नभनी महामारीमा पारिवारिक दायित्व बिर्सेर उनै जनताको सेवामा लागिरहँदा पनि अनेक लान्छना लगाउनु पक्कै पनि राम्रो होइन । कोरोनासँग सबै डराएका बेला निडर बनेर लागिरहे सेवामा । तर तीनै नर्समाथि बारम्बार प्रश्न किन ? कसले बुझ्ने हो हामी नर्सका पीडा ?
समस्या के हो थाहा नपाई सामाजिक संजालका आधारमा राेइलो गरेर समस्या समाधान हुन्छ त ? वर्षौदेखि विभेदमा रहेका नर्स, थोरै पारिश्रमिक र सुविधामा हाँसेका नर्स, सेवा सुविधाका लागि भन्दा पनि सेवामा जोड दिने नर्स समाजका साँच्चिकै परिचारिका हुन् जो न त निन्द्राले ढल्छन् नत थकानले । मात्र बिरामीको सेवामा लागिरहन्छन्। यसरी खटिरहेको नर्सलाई कहिले राज्यले सोधेको छ के तिमीहरु सन्तुस्ट छौं भनेर ? जतिसुकै पीडा र कायको बोझ हुँदा पनि हाँसेर सेवा दिने नर्स साँच्चिकै महान छन् । तर राज्यले कहिले बुझ्ने ?
श्रम ऐनमा श्रमिकलाई तोकेको भन्दा पनि कम पारिश्रमिकका नर्सलाई काम लगाइन्छ । अझ ठूला भनिएका अस्पतालमा पनि नर्समाथि चरम श्रम शोषण छ । त्यो बेला कसैले सोध्दैन किन तिम्रो श्रम शोषण भयाे भनेर । तिम्रो कामको मूल्यांकन हुनुपर्छ भनेर ।सबैले सोध्छन त मेरो पालो कहिले? म नै पहिला लाइनमा हुनुपर्छ, मैले नै पहिले औषधि पाउनुपर्छ । कार्यबोझ, दबाब र निन्द्रामा पनि खटिरहेका नर्सलाई सलाम चाहिएको होइन मात्र चाहिएको हो त हाैसला । गल्ती हुँदैन वा भएकाे छैन भन्ने होइन तर गल्ती सच्याउन सम्बन्धित निकाय जानेकी चरित्र हत्या गर्न सामाजिक संजालमा ?
जेसुकै भने पनि सबै कुरा बिर्सेर बिरामीको सेवामा खटिरहेका नर्सलाई मेरो सम्मान र सलाम छ । जस्तोसुकै परिस्थितीमा पनि हामी हाम्रा बिरामीको सेवामा सधैं लागिरहनेछौं । लागि नै रहनेछाैं ।