नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । गएराती साढे एक बजेतिर सुधार गृहका थुनुवाबीच भएको झडपमा रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको छ ।
जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको थियो । झडपमा ९ जना घाइते भएका छन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य पाँच जना सम्पर्क विहीन छन् । समूह–समूह बनाएर थुनुवाबीच झडप भएको सुधार गृह प्रमुख विमला काउचाले बताउनुभयो ।
१८ वर्ष भन्दा मनिका थुनुवालाई राख्ने अनुमति पाएको यो सुधार गृहमा २६ वर्षसम्मका युवाहरुलाई राखिएको छ । फरकफरक मुद्धामा दोषी ठहर भइ सजाय कटाइरहेका ती थुनुवाबीच विगतमा पनि समूह बनाएर गृहभित्र झड्प हुने, तोडफोड हुने र आगजनी समेत गर्ने गरेको पाइएको छ । तथापी त्यसको व्यवस्थापन भने हुन सकेको छैन ।
बाल सुधार गृहबाट २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।
२५५ थुनुवा रहेको उक्त बाल सुधार गृहबाट १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरुले बेलाबेला प्रहरी इन्जार्जलाई पिट्ने समेत गरेका छन् । घटनाबारे थप बुझन खोज्दा बाँकेका प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी प्रमुख लगायत सम्पर्कमा आउन चाहेनन् ।