नेपालगन्जका अस्पतालमा भेटिन् थाले ‘स्क्रब टाइफस’ र ‘डेंगी’का बिरामी, यी हुन् बच्ने उपाय 

    • स्वास्थ्य पेज

  • ३० भाद्र २०८०, शनिबार

नेपालगन्जः अनुशा वलीलाई करिव ४-५ दिन देखि ज्वरो आइरहेको थियो । तर ज्वरो रोकिएन । ज्वरो नरोकिएपछि शुक्रबार नेपालगन्जस्थित कान्ति अस्पताल धम्वोजीमा रगतको नमूना परीक्षण गर्दा ९ वर्षीया बालिका अनुशालाई स्क्रब टाइफस पोजेटिभ देखियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारत अनुशाको स्वास्थ्यमा अहिले भने क्रमिक सुधार आइरहेको बुवा अर्जुन वलीले बताउनुभयो । मेडिकल कलेजमा बेडमा अनुशा जस्तै स्क्रब टाइफसका बिरामी धेरै छन् ।

पछिल्ला दिनहरुमा बालबालिकाहरुमा समेत स्क्रब टाइफस र डेंगी देखिएको बालरोग विशेषज्ञ डा.रोमा बोराले बताउनुभयो । यो मौसममा स्क्रब टाइफस र डेंगीका बिरामी बढ्ने गरेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेको भनाइ छ ।

भेरी अस्पतालमा आएका बिरामीहरुमा पनि स्क्रब टाइफस र डेंगी भेटिएको उहाँको भनाइ छ । बालबालिकामात्र नभएर सबै उमेर समूहमा स्क्रब टाइफस र डेंगीको जोखिम रहने पनि डा.पाण्डे बताउनुहुन्छ ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइटं)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरपरको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर समयमै उपचार नगरे यसले गम्भीर रुप लिएर मानिसको ज्यान समेत जान सक्छ ।

स्क्रब टाइफसका लक्षणहरू
स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ । टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखापर्न थाल्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, स्वासप्रस्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

यी हुन् बच्ने उपाय 
स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यसको समयमै उपचार नभए फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पुर्‍याएर धेरैवटा अंगमा एकैपटक असर पर्ने (मल्टी अर्गान डिस्फङसन) समेत हुनसक्छ ।

बच्ने उपाय निम्नानुसार छन्

– खेतबारीमा काम गर्दा, वनजंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने,
– घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने,
– सम्भव भएसम्म भुँइमा नबस्ने । खाँटमा वा अग्लो स्थानमा सुत्ने, बस्ने
– सकेसम्म घाँसबारी वा चौरमा नबस्ने
– चउर, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने,
– मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने

  • ३० भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech