महिलाका लागि आमा बन्नु जति खुसीको विषय हो, गर्भावस्था त्यति नै पीडादायी पनि हुन्छ । गर्भमा ४/५ किलो तौलसम्मको बच्चा नौ महिनासम्म बोकेर हिंड्नुपर्छ ।
चिकित्सकहरूका अनुुसार गर्भमा भ्रूण बसेदेखि नै महिलाको हर्मोन परिवर्तन हुन थाल्छ । हर्मोन अधिक उत्पादन हुने हुँदा शरीरमा थकान, सुस्तता र मनमा उदासीपन छाउँछ ।
प्रसवले पनि थप पीडा दिन्छ । त्यही वेला बच्चाको स्याहारसुसारका कारण अनिंदो हुन्छन् ।स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्नुहुन्छ, ‘आमालाई आराम पुग्दैन । यस्तो वेला घरपरिवारको सहयोग पुगेन र लामो समय पीडाबाट गुजि्रनु पर्यो भने डिप्रेसन हुनसक्छ ।’
जसलाई पहिले अलिकति डिप्रेसन थियो, उनीहरूमा गर्भावस्था वा सुत्केरी अवस्थामा बढेर जान्छ । बाल्यकालको हुर्काइमा धेरै दुःख पाएकोे, घरेलु वा यौन हिंसा भोगेको, महिला भएकै कारणले नियममा बाँधिएर बस्नुपरेको महिलामा गर्भावस्थापछि पोस्टपार्टम डिप्रेसनको सम्भावना बढी देखिएको मनोविद् डा. विजय बिजुक्छेको भनाइ छ ।बच्चा जन्मिनुअघि (पेरिपार्टम) वा जन्मिएपछि -पोस्टपार्टम) डिप्रेसन हुँदा अधिकांश आमाको स्वभाव परिवर्तन हुन्छ ।
मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइरालाका अनुसार सुत्केरी अवस्थामा दुःखको अनुभूति हुनु, आफू वा बच्चालाई हानि पुर्याउने विचार आउनु, झर्को लाग्नु वा चिडचिडापन हुने, निन्द्रा नलाग्ने वा धेरै सुत्ने, खान मन नलाग्नु आदिलाई सुत्केरी अवस्थामा हुने मानसिक समस्या (पोस्टपार्टम डिप्रेसन) भनिन्छ ।पोस्टपार्टम डिप्रेसन एक मूड डिसअर्डर हो ।
सामान्यतया बच्चा जन्मेको पहिलो-दोस्रो हप्ताभित्र देखा पर्दछ । परिवारको सहयोग भएन, इच्छा विपरितको गर्भधारण भएको छ वा श्रीमान्-श्रीमतीको सम्बन्ध राम्रो छैन भने डिप्रेसनको सम्भावना बढी हुन्छ ।
पोस्टपार्टम डिप्रेसन निम्त्याउने अर्को कारण हो, सामाजिक । घरपरिवारलाई छोराको इच्छा थियो, तर छोरी जन्मियो भने पनि आमाले दबाब/हेलाहोचो खेप्नुपर्ने हुन्छ । ‘यस्तो वेला मेरो भविष्य के होला भन्ने डर पैदा हुन्छ, जसले डिप्रेसनसम्म पुर्याउँछ’, डा.सुवेदीको भनाइ छ ।
पोस्टपार्टम डिप्रेसनका तीन चरण
चिकित्सकहरूका अनुसार पोस्टपार्टम डिप्रेसनलाई पनि तीन चरणमा वर्गीकरण गरेर हेर्न सकिन्छ- पोस्टपार्टम ब्लुज, पोस्टपार्टम डिप्रेसन र पोस्टपार्टम साइकोसिस ।
डा. कोइरालाका अनुसार धेरैजसो आमामा देखिने अत्तालिने वा बच्चालाई कसरी हुर्काउने भन्ने चिन्ता पोस्टपार्टम ब्लुजको संकेत हो । यस्तो समस्या पहिलो पटक आमा बनेका ६० प्रतिशतमा हुन्छ ।तर धेरैजसो दुई-तीन हप्ताभित्र आफैैं ठीक भएर जान्छ । यसको लागि कुनै औषधि खाइरहनु पर्दैन । ‘पहिलो पटक आमा बन्दै गर्दा धेरै आत्तिने हुन्छ ।
परिवारको साथ-सहयोग राम्रो भएमा केही दिनमा आफैं ठीक भएर जान्छ’ डा. कोइराला भन्नुहुन्छ, ‘पोस्टपार्टम ब्लुजको अवस्थामा उपचार गर्नुपर्दैन । परिवारको साथले आफैं निको हुन्छ ।’कतिपयलाई भने लामो समयसम्म रहिरहन्छ । सुत्केरी महिलालाई निन्द्रा लाग्दैन, भोक नलाग्ने, बच्चाको माया नलाग्ने वा गलत विचारहरू मनमा आउन थाल्यो भने यो पोस्टपार्टम डिप्रेसनको लक्षण हो ।
यस्तो वेला अस्वाभाविक रूपले उदासीपन बढ्दै जान्छ ।चिकित्सकका अनुसार पोस्टपार्टम डिप्रेसनको लक्षण ६ महिनासम्म पनि देखिन्छ । र, यसको उपचार गर्नैपर्छ । ‘आमाको डिप्रेसनको प्रत्यक्ष असर बच्चामाथि पनि पर्छ । बच्चामा व्यावहारिक तथा संवेगात्मक समस्या देखिन सक्छ ।
बोलीको विकास पनि ढिलो हुनजान्छ’ डा. कोइराला भन्नुहुन्छ, ‘त्यसैले लक्षण देखिएपछि उपचार प्रक्रिया सुरु गर्नुपर्छ ।’तेस्रो स्टेज साइकोसिस डिप्रेसन अझ खतरनाक हुन्छ । चिकित्सकहरूका अनुसार साइकोसिस डिप्रेसन पुगेका महिलाहरूले बच्चालाई राम्रोसँग दूध चुसाउन वा हेरचाह गर्न समेत सक्दैनन् । एक्लै हाँस्ने, कराउने र आफ्नै बच्चालाई क्षति गराउन खोज्ने समेत गर्छन् ।
‘यो धेरै कम महिलामा हुन्छ, तर जसलाई हुन्छ, उनीहरूको मनमा बच्चालाई मार्ने वा आफैं मर्ने सोच समेत आउन सक्छ’, डा. कोइरालाको भनाइ छ।
परिवारको साथ महत्वपूर्ण
नेपालमा पोस्टपार्टम डिप्रेसन सम्बन्धी कुनै अध्ययन भएको छैन । तर गर्भावस्था तथा सुत्केरी समयमा डिप्रेसनको समस्या बढ्दो रहेको चिकित्सकहरूको अनुभव छ । उनीहरूका अनुसार गर्भवती भएको समयमा ५० प्रतिशतसम्म आमामा उदासीपन हुने गरेको छ भने २० प्रतिशत हाराहारी पोस्टपार्टमको डिप्रेसनमा जाने गरेको अनुमान छ ।
चिकित्सकहरूका अनुसार पोस्टपार्टम डिप्रेसन हुन नदिनका लागि परिवारको साथ-सहयोग नै महत्वपूर्ण हुन्छ । यस्तो वेलामा गर्भवती महिलाको भावनालाई परिवारका सदस्यले बुझ्न जरूरी हुन्छ । श्रीमान् र परिवारको साथ-सहयोग नपाए बिरामीको अवस्था जटिल हुनसक्छ । ‘सुत्केरी महिलालाई शारीरिक वा मानसिक रूपमा साथ चाहिन्छ । बच्चाको हेरचाह गर्न बढी दबाब दिनुहुँदैन । श्रीमान् वा परिवारले आफ्नो दायित्व हो भन्ने ठान्नुपर्ने हुन्छ’ डा. कोइराला भन्छन्, ‘गर्भावस्थामा उनीहरूको भावनाको समर्थन गर्नुपर्छ ।
डा.बिजुक्छे पनि परिवारका सदस्यले व्यवहारमा परिवर्तन आएको छ कि छैन ? थाहा पाउनुपर्ने बताउनुहुन्छ । सुत्केरी अवस्थामा कुनै पनि व्यवहार परिवर्तन भएमा परिवारका सदस्यहरूले बुझेर परामर्श वा अन्य उपचारहरू सुरु गरिहाल्नुपर्ने उहाँको भनाइ छ । ‘पोस्टपार्टमको उपचार एकदमै छिटो गर्न जरूरी हुन्छ ।
उपचार गरेको अवस्थामा जटिलता निम्तिनबाट जोगिन सकिन्छ’ पोस्टपार्टम डिप्रेसनबारे जानकारी नहुँदा पनि क्षति व्यहोरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘उपचार र परामर्शपछि पोस्टपार्टम डिप्रेसनको समस्या सामान्य र दैनिक जीवन सहज हुन्छ ।’