पावर देखाएर काज बस्ने कुरा मन्त्रालयले स्वीकार्दैनः स्वास्थ्य मन्त्री बस्नेत

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०८०, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको बिषय टुंगीने बताउनुभएको छ ।

भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पहुँच र पावरको भरमा मन्त्रालय र आफुअनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अव एक महिनाभित्रै आफ्नो दरवन्दीमा जाने बताउनुभयो ।

‘आफुले रोजेको ठाउँ पाइन भनेर मन्त्रालयमा रोइकराइ गर्ने, आत्महत्या गर्छु भन्ने जस्ता धम्की मेरो लागि स्विकार्य छैन उहाँले भन्नुभयो–‘चोखो मनले काम गरेको छु सबैको काज फिर्ता हुन्छ ।’

उहाँले कतिपय चिकित्सक ६ वर्षदेखि अस्पतालको भर्ना कागजात बनाएर काजमा बसेको देखियो, कतिपय १५-१६ वर्षसम्म काजमै बसेको देखियो यस्तो अवस्था मन्त्रालयका लागि स्वीकार्य हुन सक्दैन भन्नुभयो ।

उहाँले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराउनुभयो ।

संबिधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उहाँको भनाइ छ ।

‘मैले मन्त्रालय सम्हालेदेखि नै मेरो एउटै उद्देश्य र प्राथमिकता छ उहाँले भन्नुभयो–‘गरिव, विपन्न र निमुखा जनता पैसा नभएकै कारण मृत्यु हुन नपरोस् ।’

उहाँले मन्त्रालयले दरवन्दी बढाउने र क्यान्सरजन्य रोग विरुद्ध प्राथमिकता दिएर काम गर्ने योजना बनाएको पनि सुनाउनुभयो ।

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech