जनै पूर्णिमामा क्वाँटी खाने चलन पहिलेदेखि चलिआएको छ । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन ।
यसलाई ३ – ४ दिन पानीमा भिजाएर त्यसमा टुसा उम्रिएपछि त्यसलाई झोलिलो बनाएर पकाइन्छ र खाने गरिन्छ । यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान पनि सकिन्छ ।
काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।
जनैपूर्णिमाको दिनमा खाइने क्वाँटीले वर्षायाम भरी कामगर्दा भएको चिसो ठीक हुने, चर्मरोग ठीक हुने लगायतका विश्वास पनि छन् । तर क्वाँटीका फाइदाका बारेमा आधुनिक स्वास्थ्यविज्ञानले पनि वर्णन गरेको छ । स्वास्थ्यको हिसाबले क्वाँटी धेरै फाइदाजनक छ ।
क्वाटीका फाइदा यस्ता छन :-
गेडागुडीहरुमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोटिन हाम्रो शरीरमा आवश्यक पदार्थ हो जसले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ ।
टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ ।
क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन।
क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरस लगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ ।
भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने विरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ ।
झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ ।