नेपालगन्जः कैलालीमा हैजाको संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा हैजा संक्रमण पुष्टि भएको हो । गएको आइतवार १० गते अस्पतालले हैजा पुष्टि गरेको हो ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजबिक्रम शाहीका अनुसार गौरीगंगा नगरपालिका—११ मसुरियाकी एक ३४ वर्षीया महिलामा हैजा संक्रमण देखिएको हो।
उहाँका अनुसार ती महिला भारतको नयाँदिल्लीबाट ५ भदौंमा कैलाली आएकी थिइन्। दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएकोमा उनी स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्।
तर, त्यहाँका चिकित्सकले शंकास्पद ठानेर शनिवार ९ गते सेतीमा पठाएका थिए। पछि सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो। अहिले उनको धनगढीकै माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ।
सोमबारसम्म आईसीयुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको बताइएको छ। एक समय महामारीको रुपमा फैलिएको हैजा लामो समयपछि पहिलोपटक कैलालीमा देखिएको हो।