नेपालगन्जः ९७५ जना विशेषज्ञ डाक्टर कुवेत पठाउने विज्ञापन गर्ने मेनपावर कम्पनी निलम्बनमा परेको छ । नेपाली विशेषज्ञ चिकित्सकलाई रोजगारीको लागि कुवेतमा माग भएको भन्दै आवेदन खुला गरेको म्यानपावर कम्पनीलाई वैदेशिक रोगजार विभागले निलम्बन गरेको हो।
सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन गरेको हो।
ओमेगाले विभागको पूर्वस्वीकृति बिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेल पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागको ठहर छ।
यस्तै एउटै व्यक्तिको अर्को संस्था अक्जोनले पनि एजुकेसनल इन्स्टीच्युट एण्ड कन्सलटेन्सी वर्किङ भिसाको प्रलोभन देखाइ शंकास्पद कारोबार गरी व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने गरेको विभागले जनाएको छ।
विभागले यी कम्पनीहरुको कार्य शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न तत्काललाई दुवै कम्पनीलाई निलम्बन गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको भन्दै फेसबुल पेज मार्फत सूचना निकालेको थियो।