नेपालगन्जः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् । पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन् । उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएका हुन् ।
चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले पीडित पक्षको मागबारे अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी आएको बताउनुभयो ।
शुुक्रबार अस्पताल भर्ना भएका चौधरीको बायाँ मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरिएको थियो । तर उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो । उहाँको आज विहान मृत्यु भएको थियो । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मिर्गौलाको पत्थरीको अप्रेसन पछि अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको बताउनुभयो।
मृतकका भतिजा राजकुमारले भन्नुभयो, ‘सबै परीक्षणपछि सवा १ बजे अप्रेसनको लागि अप्रेसन थियटर लगियो। सुरुमा अप्रेसन सफल भयो भनियो। हामीमा खुसीको सीमा थिएन। तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए। उनको पेट पुरै फुल्यो। रक्तश्राव भएछ। पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए। बिरामीको अवस्था झन बिग्रियो। त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए।’
अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताउनुभयो। अस्पतालका एक चिकित्सकका अनुसार अत्याधिक रत्तश्राब भएपछि बिरामीको ज्यान बचाउन कै लागि बिरामीको एउटा मिर्गौला निकाल्नु परेको थियो।