नेपालगन्जः नेपालगन्ज १५ का राकेश बर्माको कार बीपी चोकनजिकै रोकियो । कारको अगाडिको बायाँतिरको ढोका खोल्नुभयो । सिमसिम पानी परेकाले कुनै साथीलाई ‘पिक अप’ गर्दै हुनुहुन्थ्यो । साथी कारभित्र बसेपछि ढोका बन्द गर्दै गर्दा शाकाहारी राकेशले भित्री मनको द्वार भने बन्द राख्न सक्नु भएन, ‘ओ हो सेकुवाको कस्तो मिठो बास्ना आयो ।’
त्यति बेला उहाँको कार सेकुवा पोल्ने पसलभन्दा २० मिटर टाढै थियो । तर कोइलाले डढेको मासुको गन्धसहितको धुवाँमा मन थाम्न नसक्ने सुगन्ध महसुस गर्दै हुनुहुन्थ्यो उहाँ । सहजै अनुमान लगाउन सकिन्छ अँगारसहितको सेकुवाले मांसाहारीको मनलाई कति तान्दो हो । हल्का वर्षा होस् वा चिसो मौसम । गोजीमा दाम र जिउमा दम हुने कतिपय मानिसले भन्ने गर्छन्, ‘आज त मौसमले पनि च्यालेन्ज नै गरेको छ । जाने हो त सेकुवा खान ? त्यो रेस्टुराँमा निकै स्वादिलो र ठुल्ठूला पिस भएको सेकुवा पाइन्छ । त्यतै भेटौँ न है ।’
अहिलेको जीवनशैलीसँगै खानपानमा भइरहेको यस्तो परिवर्तनले कैयौँ मानिसलाई यसरी नै हरेक दिन धुवाँको मुस्लोतिर धकेल्ने गरेको पाइन्छ । घरको भन्दा होटेल र रेस्टुराँको खानालाई प्राथमिकता दिनेहरू पनि कम छैनन् । हरियो सागपात र तरकारीको साटो मासु त्यो पनि पोलेको, चिल्लो र पिरो रोजाइमा पर्ने गरेको छ । पोलेको र भुटेको मासु खानेहरूको जमात कम छैन ।
खुसी होस् वा दुःख, उमंग, चिन्ता, जय, पराजय, एकलै हुँदा होस् वा साथीसँगको भेटघाट साथै बिछोडको पीडा नै किन नहोस् खाने बहाना खोज्नेहरू सेकुवातिर आकर्षित भइरहेको पाउन सकिन्छ । खानपानमा भइरहेको यस्तो परिवर्तन, उपभोक्तको लत र रुचिले भान्साबाट ‘मन्द विष’ पस्किने होडमा देखिन्छन् व्यवसायीहरू पनि ।
नेपालगन्जको तारे होटेलदेखि साना–ठूला सबै रेस्टुराँका भन्सामा कोइला र त्यसबाट निस्कने धुवाँको मुस्लोमा अँगारजस्तो हुने गरी पकाएको सेकुवा पस्किने र खानेको होड छ । यस्तो खानपान स्वास्थ्यका दृष्टिले हानिकारक त हुन्छ नै यसले क्यान्सरको खतरा निम्त्याउने चिकित्सकहरू बताउँछन् । अहिले खाएको सेकुवा पछि ‘बारुद’ जस्तो घातक बन्न सक्छ ।
चिकित्सकका अनुसार आन्द्रा छियाछिया पार्न सक्ने जोखिम रहन्छ । सेकुवा सेक्दा मासु डढेर अँगारजस्तै बन्छ । त्यसमा विभिन्न रसायन उत्पन्न हुन्छन् । जसमध्ये नाइटोसमिन नामक रासायनिक पदार्थले क्यान्सर निम्त्याउँछ । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा साजन थापा भन्नुहुन्छ, ‘यस्तो खानेकुरा मासुमा पोलिक्लिक एरोमेटिक हाइड्रोकार्बन र हेटेरोसाइक्लिक एमाइन्सजस्ता हानिकारक यौगिकहरू हुन्छन् । यी यौगिक म्युटेजेनिक हुन् ।
जसले प्रायः पेट र कोलोन क्यान्सरको जोखिमसँगै स्तन प्रोस्टेट क्यान्सरको जोखिम पनि बढाउँछ ।’ क्यान्सर रोग विशेषज्ञ डा साजनका अनुसार पोलेको खानामा धुवाँयुक्त स्वाद दिने ग्रिलिङ र धूमपान प्रक्रियाहरू समावेश हुन्छन् । जसले क्यान्सर गराउने कम्पाउन्ड उत्पन्न गर्छ । विश्व स्वास्थ्य संगठनले धुवाँमा पोलेका र पकाएका खानाले अन्य स्वास्थ्य समस्या जस्तै– स्ट्रोक, हृदय रोग, सँगै मधुमेह पनि निम्त्याउने हुँदा पोलेको वा धुवाँमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक हुने जनाएको छ ।
तारेको र भुटेको मासुमा धेरै चिल्लो हुने भएकाले अल्सर हुने सम्भावना धेरै हुन्छ । भुटेको र तारेको मासुले ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको चिकित्सकहरू बताउँछन् । मुख्य रूपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्त्व उत्पादन गरी दीर्घकालीन रूपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ ।
रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक तत्त्व उत्पादन हुन्छ । जसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने भन्दै चिकित्सकले यस्तो मासु नखान सुझाव दिन्छन् । धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले पनि क्यान्सर निम्त्याउन सक्छ ।
कतिपय मानिसले सेकुवासँगै सुर्ती, चुरोट, रक्सी एकैसाथ खाने गर्छन् । यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरूको भनाइ छ । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि त बारुद समान बन्न पुग्छ सेकुवा । पछिल्लो समय युवा पुस्तामै कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भावना देखिएको छ ।
यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्छ । तसर्थ सेकुवाले मृत्युको कुवातिर धकेल्छ भन्ने बुझेर बेलैमा सचेत हुने हो भने आफैँले निम्त्याउने स्वास्थ्य संकटबाट जोगिन सकिन्छ ।
कान्तिपुर टिभीबाट