नेपालगन्जः पोखरा महानगरपालिका १६, बाटुलेचौरमा रहेको मातृृशिशु मितेरी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि छानविन गर्न अस्पताल सहमत भएको छ। म्याग्दी घर भई हाल पोखरा १६ बस्दै आएकी २४ वर्षीय निलम पुनमगरको मृत्यु भएपनि परिवारले प्रश्न उब्जाएका थिए । साउन २९ गते अस्पताल पु¥याइएकी मगरको ३० गते अपरेसनबाट छोरी जन्माउनुभएको थियो ।
सुरुमा स्वस्थ अवस्थामा रहेकी उहाँको बीचमा स्वास्थ्यमा खराब आएसँगै अस्पतालले भदौ ६ गते गण्डकी अस्पताल रेफर गरेको थियो । तर, गण्डकीमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मगरको मृत्यु भएको हो । पीडित परिवारका अनुसार अपरेसनका क्रममा लापरबाही हुँदा मगरको पाठेघरमै रगत जम्मा हुन गएको थियो ।
जसले गर्दा समयमै उचित उपचार नपाउँदा उहाँको मृत्यु भएको परिवारको आरोप छ । पीडितका आफन्त तथा छिमेकीहरुले आज मातृशिशु अस्पताल परिसरमा नाराबाजी गर्दै धर्ना पनि दिएका थिए । उनीहरुले मातृशिशु अस्पताल भने पनि भेन्टिलेटर, आइसीयू, एनआईसियूलगायत अत्यावश्यक व्यवस्था नहुँदा जोखिम बढेको आरोप लगाए ।
मृतकका आफन्तले अस्पताले सुत्केरीको उपचारमा लापरबाहीको जिम्मेवारी लिनुपर्ने र घटनाबारे प्रष्ट खुलाउनुपर्ने माग राखेका छन् । उनीहरुले बच्चा तथा पीडितका श्रीमानलाई रोजगारको व्यवस्था गर्नुपर्ने र आगामी दिनमा यस्ता घटना नदोहो¥याउन प्रतिवद्धता जनाउनुपर्ने माग राखेका छन् । मातृशिशु अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्डेन्ट डा धर्मदेव ढकालले उच्च रक्तश्रावका कारण यस प्रकृतिको घटना हुने बताउनुभयो ।
उहाँले बिरामीको अपरेसन भएको चौथो दिनसम्म अवस्था राम्रै भए पनि डिस्चार्ज गर्नेबेला समस्या देखिएको स्वीकार गर्नुभयो । अस्पताल र पीडित पक्षबीच आज नै छानबिन समिति बनाउने सहमति भएको छ । छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बाँकी प्रक्रिया अगाडि बढाउने उनीहरुको भनाइ छ । पीडितका आफन्तले बिहीबार नै शव बुझिसकेका छन् ।