वर्षामा दूषित पानीले धेरै समस्या निम्त्याउने गरेको पाइन्छ । बाढी–पहिरोका कारण पानीको मुहान प्रदूषित भएको हुन सक्छ । सहरी क्षेत्रमा ढल फुटेर खानेपानीमा मिसिनेलगायत विभिन्न समस्या देखिन्छन् ।
खुला रूपमा गरेको दिसा–पिसाब खोलानाला, पोखरीमा मिसिने र त्यहाँको पानी मानिसले पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । दूषित पानी प्रयोगले सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ ।
संक्रमित व्यक्तिले सावधानी नअपनाएमा अरू व्यक्तिमा सर्ने गर्छ । हामीले खोला, धारा, इनारबाट पानी प्रयोग गर्छौं । खानेकुरा त्यही पानीले पखाल्छौँ, नपकाई खाने फलफूल तरकारी दूषित पानीले पखालेर खायौँ भने पनि रोग सर्न सक्छ । संक्रमित व्यक्तिले सरसफाइमा ध्यान नदिँदा टाइफाइडजस्ता रोग अरूलाई सर्न सक्छ ।
कसरी बच्ने ?
– आफूले पिउने पानी कहाँबाट आएको हो, बुझ्नुपर्छ । इनारको पानी हो भने इनारवरपर पर्खाल लगाएर बगेर आउने पानी मिसिन दिनुहुँदैन । पाइपको पानी हो भने पाइप फुटेर फोहोर मिसिएको छ÷छैन, जाँच गर्ने गर्नुपर्छ । पानी सधैँ उमालेर, फिल्टर गरेर वा शुद्धीकरण विधि अपनाएर मात्र पिउनुपर्छ ।
– खाना खानुअघि, चर्पी गएर आएपछि, साबुनपानीले सफासँग हात धुनुपर्छ ।
– काँचो फलफूल, सागसब्जी खानुहँुदैन । सफा पानीले धोएर मात्र खानुपर्छ । पखाल्दा पानी सफा हुनुपर्छ ।
– आफ्नो घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । फोहोर विसर्जन राम्रोसँग गर्नुपर्छ ।
– जथाभावी दिशा, पिसाब गर्नुहुँदैन । शौचालय सधैँ सफा राख्नुपर्छ ।
– जथाभावी फोहोर फाल्नुहुँदैन । उचित व्यवस्थापन गर्र्नुपर्छ ।
समस्या देखिएमा
– झाडापखाला लागेमा जीवनजल खानुपर्छ । यदि जीवनजल छैन भने नुन–चिनी–पानी उमालेर खानुपर्छ । झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ ।
– दिनमा पाँचपटकभन्दा बढी पखाला लागे, बान्ता हुने, खान मन नलाग्ने भएमा स्वास्थ्य संस्थामा जानुपर्छ ।
– ज्वरो आएको अवस्थामा सिटामोल लिन सकिन्छ । यसबाहेक अन्य औषधि चिकित्सकको सल्लाह नलिई प्रयोग गर्नुहुँदैन ।
– थप समस्या आए चिकित्सकसँग परामर्श गर्नुपर्छ ।