अस्पतालबाट गायब पारिएकी शिशु डाक्टरले बेचेको खुलासा, शिशु फेला परिन्

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०८०, मंगलवार

मङ्गलबार कोशी अस्पतालबाट डा तपेश्वरलाल कर्णलाई जिल्ला प्रहरी कार्यालय लगिँदै।

नेपालगन्जः विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब पारिएका शिशु चिकित्सकले नै बेचेको खुलासा भएको छ। मंगलबार मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य खुलेको हो। मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले पक्राउ परेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई शिशु बेचेको जानकारी दिनुभयो । तर कति पैसा लिएर दिएको भन्ने खुल्न बाँकी रहेको उहाँको भनाइ छ ।

प्रहरीका अनुसार मोरङको कहटरी २ की दिलमाया राजवंशीलाई डा कर्णले शिशु दिएको खुलेको प्रहरी भनाइ छ। आजदेखि अस्पतालमा रहेका डाक्टर डिस्चार्ज भएर प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरू भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यो प्रकरणमा प्रहरीले शिशुकी आमाको प्रेमी र चिकित्सकलाई शुक्रबार पक्रेको थियो।

गएको असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी तामाङ (नाम परिवर्तन)लाई प्रसूति व्यथाले सतायो। अविवाहित उनले यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन्। गोविन्दले उनलाई विराटनगरस्थित ग्रीनक्रस अस्पताल ल्याइपुर्‍याउनुभयो । उनलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। तपेश्वरलाल कर्णले चेकजाँच गर्नुभयो। र, व्यथा अझै बढ्ने औषधि दिए। त्यसको केहीबेरपछि उनले नर्मल रूपमा छोरी जन्माइन्। भोलिपल्ट अर्थात् असार १४ मा अस्पतालले उनलाई डिस्चार्ज गर्यो। जब अस्पतालले घर जाने अनुमति दियो, फूलकुमारीको साथमा शिशु थिइनन्।

उनले बच्चा खै भनेर सोधिन्। उनका प्रेमी गोविन्दले बच्चा अस्पतालमै रहेको, उपचारका लागि राख्नुपर्ने बताउनुभयो। बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन्। ‘उहाँले मलाई बच्चा बिना नै ट्याम्पोमा राखेर इटहरी पुर्‍याउनु भयो। बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो। बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो’, फूलकुमारीले भनिन् ‘दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो। त्यसपछि फर्किएर आउनु भएन।’

आफूलाई बिहे गर्छु भन्ने वाचा गरेर बच्चासमेत जन्मिसकेको अवस्थामा प्रेमी नै बेपत्ता भएको र आफूले स्वस्थ जन्माएको शिशुसमेत साथमा नभएपछि फूलकुमारी प्रहरीकोमा पुगिन्। प्रहरीले उनले दिएको जाहेरी अनुसार अनुसन्धान थाल्यो। अन्ततः शुक्रबार प्रेमी र प्रसूति गराउने चिकित्सकलाई पक्राउ गर्यो।

  • ५ भाद्र २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech