हामी मानव जातिको शरीरमा पाँचदेखि छ लिटर रगत हुन्छ । यसलाई तरल अवस्थामा हुने एक प्रकारको अंग मानिन्छ । यसको मुख्य काम भनेको हाम्रो शरीरका विभिन्न अंगहरुबीचमा हावा, खानालगायत चिज ओसार-पसार गर्ने माध्यमको रुपमा रहन्छ । त्यस्तै, रोगसँग लड्ने, शरीरको तापक्रम ठीक राख्ने पनि अरु केही केही महत्वपूर्ण काममध्ये पर्दछन् ।
रगतमा के कस्ता समस्याहरु हुन्छन्?
हाम्रो समाजमा विद्यमान समस्याका केही उदाहरण हेरौं
• ४० वर्षीया महिलालाई महिनाबारी हुँदा धेरै रगत गएकोले जचाउन जादा रगतमा खराबी देखियो रे ।
• ७० वर्षीया बुढी आमाको शरीरभरी डाबर आइरहन्थ्यो । बोक्सीले टोकेको होला भन्ठानेको रे । छोराले सहरबाट आएर तुरुन्तै जचाउन लगेछ । धन्न त्यति ढिला भएको रहेनछ, रगतमा समस्या पो रहेछ ।
• ५० वर्षीय पुरुष आर्मीबाट रिटायर भए ‘काम गर्न खोज्दा फतक्कै गल्छु, के भएछ र हौं ?’ भन्थे, शरीर पनि पहेलो हुँदै गएथ्यो । त्यस्तो तगडा मान्छेलाई पनि रगतको क्यान्सर पो भएको रहेछ, अहिले उपचार गराएर पहिलेकै अवस्थामा फेरिन थालेका रहेछन् ।
• जाडोमा तातो पानीले नुहाउँदा शरीर चिलाउछ भन्थ्यो । रगतको समस्याले पनि त्यस्तो हुने रहेछ ।
• १० वर्षीय बच्चाको उमेरअनुसार शारीरिक र मानसिक विकास भएको थिएन । रगतको समस्याले पनि त्यस्तो पो हुने रहेछ ।
• छ महिनाको नानी, २ महिनादेखि लगातार ज्वरो आइराख्यो । कति उपचार गराएर औषधी खुवाएको सन्चो भएन, झन् आईसीयुमा राखेर उपचार गर्नेसम्म पुगिन्, ज्यानको आशा गर्न नै नसकिने भयो पछि रगतको जाँच गर्दा पो थाहा भो, उसलाई मलेरिया पो भएको रहेछ । अनि रोग पत्ता लागेको १० दिन मै ठीक भयो ।
• आफ्नो चौरासी पुजा आफै खटेर गरेकी आमालाई ब्लड प्रेसरको औषधी मात्र खानेबाहेक अरु समस्या थिएन । तर, अचानक दिमाखमा रगत जमेर प्यारलाइसीस भयो र ५ वर्षदेखि ओछ्यानमै पर्नु भयो ।
यस्ता फरक-फरक प्रकृतिका हजारौं समस्याहरु हाम्रो समाजमा विद्यमान छन् । विशेष गरेर निम्न समस्या के कस्ता हुन् भन्नेबारे हामीले बुझ्न जरुरी छ र समयमा नै उपचार गराउनेतर्फ हामी लाग्नु पर्दछ ।
• रगतको कमी हुने समस्या
• रगत जम्ने समस्या
• रगतको क्यान्सर
• अन्य समस्या, जस्तै, रातो कोषिकाको मात्रा धेरै हुनु, हेमोफिलिया ।
रगतको कमी हुने समस्या, जसमा रातो कोषिकाको कमी हुन्छ, यसलाई हामी रक्तअल्पता भन्दछौं। हाल हाम्रो देशमा ४०% जति जनतामा रक्त ल्पता रहेको एक अध्ययनले देखाएको छ । यति धेरै जनामा रगतको कमी हुनु भनेको साह्रै दु:खद् कुरा हो । कारण धेरै हुन सक्छन्, तर, गरिबीले राम्रो खाना नपुग्नु, खाएको कुरा पनि पेटमा हुने जुकाले खानु, रगत खाने जीवाणु वा अन्य रोग हुनु, रक्सीलगायत चिजहरुको बढी सेवन गर्नु, मिसाओटयुक्त खाना खानु, सुरक्षाका उपाय बिना किट्जन्य औषधी छर्नु आदि हाम्रो लागि समस्या छन् ।
केही भने वंशाणुगत पनि हुने गर्दछन् । रक्तअल्पताका पनि धेरै प्रकार छन् । फलामयुक्त पोषण तत्वको कमी हुँदा हुने रक्तअल्पता सबैभन्दा बढी रहेको छ । त्यस्तै भिटामिन बी १२ को कमीले हुने अर्को खालको रक्तअल्पता पनि समस्याको रुपमा रहेको छ । भाइरसबाट सर्ने हेपाटाइटिसजस्ता रोग र रक्सीले हाम्रो कलेजोलाई असर गरेको हुन्छ जसले गर्दा पनि रगतमा समस्या देखिन सक्छ । मलेरिया, कालाजार हामीले सुनिरहेका समस्या हुन, जसले रगतको कोषिकालाई आफ्नो डेरा बनाउँदछ, त्यसैलाई काम नलाग्ने बनाउँदछ, टुक्राउँदछ ।
नेपालमा रगतको कमी हुने धेरै रोगमध्ये थालासेमिया र सिकलसेल एनिमिया पनि पर्दछन् । थारु समुदायमा धेरै हुने भनिएको थालासेमिया अन्य समुदायमा पनि बढ्दो रूपमा भेटिइरहेको छ । रगत जम्ने समस्याले टाउकोमा रगत जमेर प्यारलाइसी सम्म हुने गर्दछ । यो समस्यामा रगत जमेर डल्ला जस्तो बन्ने र त्यसले रगत नली बन्द गरी दिने र दिमाख जस्तो ठाउँमा रगत पुग्न नदिने हुन्छ, जसको कारण प्यारलाइसीससम्म हुने गर्दछ । यो समस्याले मुटुलाई समेत धेरै असर गर्दछ ।
त्यस्तै, रातो कोषिकाको मात्रा धेरै भयो भने पनि यस्ता समस्या देखिन सक्छन् । हेमोग्लोबिनको मात्रा चाहिनेभन्दा धेरै हुनु पनि राम्रो होइन् । त्यस्तै प्लेटिलेट- कोषिकाको मात्रा धेरै कमी भयो या हेमोफिलिया छ भने रगत आवस्यकताअनुसार जम्न नसकी खेर जाने हुन सक्छ ।
रगत क्यान्सर
रगत क्यान्सरमा रक्तकोषिका अनाआवश्यक रुपमा धेरै बढी दिन्छ र नराम्रो बनिदिन्छ । जसको कारण राम्रोसँग काम नगर्ने रुपमा रगत रहन्छ ।
रगतमा हुने क्यान्सर मुख्यत ३ प्रकारका छन ।
ल्युकेमिया , माइलोमा र लिम्फोमा ।
के कस्ता लक्षणहरुले रगतको समस्यातर्फ अंकित गर्दछन्?
• शरीर धेरै थकित हुने, उकालो या सिढी चढ्न गाह्रो हुने, श्वास फुली हाल्ने ।
• अनुहार फुस्रो हुने, आँखा बढी सेतो या पहेलो देखिने ।
• निद्रा राम्रोसँग नलाग्ने ।
• चिढ-चिढ पसिना आउने ।
• ज्वरो आइरहने ।
• घाँटीमा, काखीमा, खुट्टाको कापमा या अन्य कतै गाठा देखिने या कलेजो / फियो बढ्ने ।
• हड्डी, मासु दुख्ने ।
• शरीरमा डाबर या निल डाम देखा पर्ने ।
• गिजा सुन्निने, दाँत माझ्दा रगत देखिने ।
• महिनावारी हुँदा रगत धेरै बग्ने, धेरै दिनसम्म बग्ने ।
• काटेको ठाउँमा धेरै बेरसम्म पनि रगत नरोकिने ।
कसरी पत्ता लाग्छ रगतको समस्या?
(निदानको तरिका)
माथि उल्लेख गरिएका समस्याहरुको डाक्टरबाट उचित मुल्याङ्कन गरिन्छ र यसलाई पुष्टि गर्न रगतको जाँच गरिन्छ । रगतको सामान्य जाँच, सिबिसी, पिबियस हुन् । अरु विशेष जाँचमध्ये धेरैमा गरिने बोनम्यारोको जाँच हो । अरु भने आवश्यकताअनुसार गरिन्छ । जस्तैः फ्लोसाइटोमेट्री , जेनेटिकल एनलाइसिस् । लिम्फोमाको लागि थप जाँचमा भने सुन्निएका गाँठाको फाइन निडल एस्पिरेसन (सुइले कोपेर गरिने एक प्रकारको जाँच ) र बायोप्सी (काटेर हेरिने जाँच) पनि पर्दछन् ।
रक्तअल्पतालाई पनि इलेक्ट्रोफोरेसिसजस्ता विशेष जाँचसमेत गरिन्छ । उपचारको लागि प्रयोग हुने निदानका नयाँ नयाँ प्रविधीको आगमन साथै प्रयोगशालामा काम गर्ने प्याथोलोजी समूहका विज्ञ डाक्टरहरु पनि उपलब्ध हुन थालेकोले छिटो छरितो रुपमा रोगको पहिचान हुन सकिरहेको अवस्था रहेको छ ।
रगतका समस्याको उपचार के कसरी हुन्छ ?
रगतको केही मात्रा कमी छ, कारण रोक्न सकिने छ जस्तैः जुका छ, मलेरिया छ भने औषधीले नै ठीक हुन्छ । धेरै नै कमी भएको अवस्थामा केहि पोका (पिन्ट) रगत चढाउनुपर्ने पनि हुन सक्छ । रगतका क्यान्सरको उपचार केमोथेरापी / रेडियोथेरापीबाट हुन्छ । बोनम्यारो ट्रान्सप्लान्ट नै गर्नुपर्ने अवस्था केहीमा हुन सक्छ ।
नेपालमा रगत क्यान्सरको उपचार सम्भव छ?
नेपालमा उपचार छ । रगतका क्यान्सरको समेत पूर्ण रूपमा निको हुनेसम्मको उपचार सम्भव छ । उपलब्ध भएका केमोथेरापी / रेडियोथेरापी पनि केही लाख खर्चमै सम्भव हुन्छ । बोनम्यारो ट्रान्सप्लान्ट नै गर्नुपर्ने अवस्था पुगेमा भने अलि बढी खर्च हुने गर्दछ । मुख्यतः कति चाँडो निदान हुन सक्यो कुन प्रकारको समस्या हो भन्नेमा चाहि धेरै फरक पर्दछ ।
निचोड
रगतको सिबिसी जाँच गर्दा जम्मा ३-४ सय खर्च लाग्छ र समय केही मिनेटदेखि घण्टा जति मात्र लाग्छ । यो जाँच गर्दा रगतमा समस्या छ है भनी जनाउ दिन सक्छ । अझ त्यसको साथमा डाक्टरले माइक्रोस्कोपमा राखेर हेर्ने पिबियस जाँचले कोषिकाको अध्ययन गरी धेरै कुरा पत्ता लगाउन सकिन्छ ।
घाँटीमा , काखीमा, खुट्टाको कापमा या अन्य कतै गाठा देखिए भने पनि त्यसलाई कोपेर वा काटेर जाँच गरी रोग छिटो पत्ता लगाउन सकिन्छ । त्यो नि त्यति महँगो जाँच होइन् र धेरै ठाउँमा उपलब्ध पनि हुन्छ । नेपाल सरकारबाट पनि एक लाखसम्मको उपचार सहयोग पाइने हुँदा बिमारीलाई धेरै राहत भइरहेको देखिन्छ । त्यसैले, हामीले पैसा छैन भनेर आफ्नो स्वास्थ्य समस्यालाई निदानतर्फ लग्न ढिलो गर्नु हुँदैन् । जति चाडो निदान भयो, त्यति नै सजिलोसँग उपचार हुन सक्छ ।
जटिलता हुनबाट जोगिन सकिन्छ । माथि बताइएका कुनै समस्या नदेखिएको अवस्थामा समेत बेला-बेला सिबिसी र पिबियस जाँच गराउने गरौं । गर्भवती महिलाले कम्तिमा एक पटक रगत जाँच गर्ने व्यवस्था हुनैपर्छ । अन्त्यमा, भन्नैपर्छ ‘एक पटक जाँचेर त हेरौं, के हाम्रो रगत ठीक छ त ?’
(डा झा, रगत एवं क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ भने डा काफ्ले कन्सल्टेन्ट प्याथोलोजिस्ट हुनुहुन्छ ।)