नेपालगन्ज: फत्तेबाल आँखा अस्पतालमा अकुलोप्लाष्टी र कर्नियाको विशिष्टिकृत सेवा समेत सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उक्त विशिष्टीकृत सेवाहरुको आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले आफ्नो कार्यकालमा नेपालगन्ज उपमहानगरपालिकालाई फत्तेबाल आँखा अस्पताल संगको सहकार्यमा दृष्टिविहीनता मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै नगर उपप्रमुख कमरुद्दिन राईले फत्तेबाल आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण र प्लास्टिक सर्जरी जस्तो विशिष्टीकृत सेवा सुरु भएबाट यस क्षेत्रकै गौरव बढेको बताउनुभयो ।
अब धेरै पैसा खर्च गरी भारत तथा नेपालको टाढाको आँखा अस्पताल सम्म जानुपर्ने बाध्यताको अन्त्य भएको समेत उपप्रमुख राईले बताउनुभयो ।
कार्यक्रममा संस्थाको कार्यवाहक सभापति केशव राम वर्मा, सचिव सुश्री शान्ति श्रेष्ठ, प्रबन्ध निर्देशक डा. कौशल कुमार वर्मा, चीफ मेडिकल डाइरेक्टर डा. देवराज भारती र कर्निया विशेषज्ञ डा. राजसी श्रेष्ठले उक्त विशिष्टीकृत सेवा बारेमा जानकारी गराउँदै क्रमशः अस्पताललाई सम्पूर्ण विशिष्टीकृत सेवा सहितको एम. डी. स्तरको समेत अध्यापन हुने नेत्र विज्ञान शिक्षण संस्थानको रूपमा विकास गरिने योजना रहेको बताउनुभयो ।