नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघ बाँके र प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले भेरी अस्पताल नेपालगन्जका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीलाई स्वागतसंगै परिचयात्मक कार्यक्रम गरेको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको उपस्थितिमा नवनियुक्त मेसु डा। रायमाझीलाई स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरिएको हो ।
त्यसक्रममा स्वास्थ्यकर्मी संघ र जनस्वास्थ्य संघले नवनियुक्त मेसु रायमाझीको सफल कार्यकालको शुभकामना दिएका थिए । रायमाझीलाई बिरामीमैत्री तथा बिपन्नमुखी सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आग्रह समेत गरिएको प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको सचिव नरेश श्रेष्ठले बताउनुभयो ।
मेसु रायमाझीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकको मेडिकल हब रहेको भेरी अस्पतालप्रतिको सेवाग्राहीको आशा र आस्था अनुरुप सहज र सुलभरुपमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उनले अस्पतालको आकस्मिक सेवा र आइसियु सेवा सेवाग्राहीमुखी बनाइने समेत बताउनुभयो ।
डा.रायमाझीले बिरामी भर्ना सहज बनाउने, गरिब बेवारिसे बिरामीले पैसा अभावका कारण उपचारबाट बिमुख हुने अवस्था आउन नदिने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल स्वास्थ्य कर्मी संघ बाँकेका उपाध्यक्ष बिरजङ्ग शाह, कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष जागेश्वर बस्नेत लगायतको उपस्थिति थियो ।