काठमाडौं: नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ परेका एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् ।
‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले एकजना सक्कली डाक्टरलाई समेत पक्राउ गरेको थियो। साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा.रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो । तर, डा.यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको हो ।
यादवको डकुमेन्टहरु हेर्दा सक्कली पाइएपछि उनी रिहा भएका हुन्। यादव रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।
सीआईबीको हिरासतमा डा.अमित चौधरी, डा.रामबाबु यादव, डा. एरिना शाह, डा.श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा.पुनम थापा छन् ।