सामान्यतया दमको समस्या वयस्क वा वृद्ध(वृद्धालाई हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ दम । संसारका विभिन्न मुलुकमा गरिएको अध्ययनअनुसार सन् १९८० देखि नै पाँचदेखि ६ प्रतिशत बालबालिकामा दमको समस्या देखिएको छ । हालसालै भएका अध्ययनअनुसार १० प्रतिशत बालबालिकामा दमको समस्या देखिएको छ । बच्चामा दम हुने कारण के हो ? यसको उपचार के छ ? लगायत विषयमा बाल छाती तथा एलर्जीरोग विशेषज्ञ डा. जगतजीवन घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः
पहिले बालबालिकामा दमको समस्या खासै थिएन अहिले बढेको हो ?
यो जिज्ञासा धेरै अभिभावकलाई हुन सक्छ । तर पहिले पनि बालबालिकालाई बेलाबेलामा खोकी लाग्ने, स्याँस्याँ हुने ज्वरो आउने समस्या देखिन्थ्यो । यस्तो समस्यालाई निमोनिया भनेर अभिभावकले पटकपटक अस्पताल लगेर आईसीयूमा भर्ना गर्थे, एन्टिबायोटिक खान दिइन्थ्यो । तर त्यो समस्या बारम्बार दोहोरी रहेको थियो भने त्यो दमको कारण भनेर दमको पहिचान नभएको हुन सक्छ । साथै अहिले धुलो, धुवाँ, प्रदूषणको कारण पनि बच्चामा दमको समस्या बढेको हुन सक्छ ।
बच्चालाई दम भए कस्तो लक्षण देखिन्छ ?
दमको लक्षण बच्चामा उमेरअनुसार फरक पर्छ । पाँच वर्षभन्दा कम उमेरका बच्चामा रुघा लाग्नेबित्तिकै सास छिटोछिटो फेर्ने, कोखा हान्ने, स्याँस्याँ हुने र निमोनिया जस्तो लक्षण देखिने हुन्छ । पाँच वर्षमाथिका बच्चामा स्याँस्याँ भइरहने, दौडिंदा खेल्दा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने समस्या हुन्छ । १० वर्षभन्दा माथिका बच्चामा हिंड्दा दौडिंदा खोकी लाग्ने, स्याँस्याँ हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ । यो समस्या सधैंभरि देखिंदैन, कहिले लक्षण देखिने र कहिले नदेखिने हुन्छ । यी समस्या चाँडै निको हुने र बल्झिने भइरहन्छ । कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनादेखि एक वर्षसम्ममा पनि बल्झिन्छ ।
बच्चामा दमको समस्या देखिनुको खास कारण के हो ?
बच्चामा दम कुनै एउटा मात्र कारणले भन्दा पनि विभिन्न कारणले हुने गर्छ । विभिन्न कारणमध्ये वंशाणुगत कारण परिवारका सदस्यमा दमको समस्या छ भने बच्चामा वंशाणुगत रूपमा यो समस्या देखिने भयो । अर्को वातावरणीय प्रदूषण, धुवाँ धुलो, फूलको परागको कणबाट हुने एलर्जीले पनि बच्चामा दमको समस्या देखिन्छ । अहिले जंकफुड, प्याकेट फुड जस्तो खराब खानपान र शारीरिक रूपमा निष्क्रिय बच्चामा पनि दमको जोखिम बढ्न सक्छ ।
दम र निमोनियामा अभिभावकहरू झुक्किन सक्छन्, कसरी छुट्याउने ?
कतिपय अभिभावक मेरो बच्चालाई महिनामा दुई(तीन पटक निमोनिया भयो भन्दै आउँछन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको, एचआईभी एड्स वा जन्मजात फोक्सोको समस्या भएको बच्चाबाहेक सामान्य खेलिरहेको, खाइरहेको बच्चालाई पटकपटक निमोनिया नै हुँदैन ।बेलाबेलामा धेरै खोकी लाग्ने, स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने लक्षण निमोनिया नभएर दम हो । बच्चालाई सास फेर्न गाह्रो भएर अस्पताल लगेर बाफ लगाउने बित्तिकै ठीक हुन्छ भने त्यो दम हो । निमोनिया हुँदा बच्चालाई धेरै ज्वरो आउने, कमजोर हुने जस्ता लक्षण देखिन्छ । निमोनियाको उपचारमा समय पनि लाग्छ ।
दम भएको बालबालिकाले खाना बार्नुपर्छ कि पर्दैन ?
धेरै चिसो खानेकुरा, गुलियो खानेकुरा, जंकफुड, एउटै तेल धेरै पटक प्रयोग गरेर पकाएको खानेकुराले असर गर्न सक्छ । त्यसैले यस्ता खानाबाट टाढा रहनुपर्छ । कुनै खानेकुरा खाने बित्तिकै बच्चालाई एलर्जी हुन्छ भने त्यसबाट पनि उनीहरूलाई टाढा राख्नुपर्छ । कतिपय अवस्थामा केरा सुन्तला जस्तो फलफूल खानु हुँदैन भनेको पनि सुनिन्छ । तर फलफूल त बच्चाको स्वास्थ्यका लागि राम्रो हो । यदि केरा वा सुन्तला कुनै एउटा फलफूल खाने बित्तिकै बच्चालाई गाह्रो हुन्छ भने दिनु हुँदैन । नत्र फलफूल बार्नु पर्दैन । दूध तथा दूधबाट बनेका परिकार पनि बार्नुपर्छ भनेको सुनिन्छ । तर दूध तथा दूधबाट बनेका परिकार बच्चाको शारीरिक मानसिक विकासको लागि महत्त्वपूर्ण हुन्छ । दूध खाने बित्तिकै एलर्जी हुन्छ भने बार्नुपर्यो, नत्र यस्ता दुग्धजन्य पदार्थ पनि बार्नु पर्दैन ।
वयस्कहरु जस्तो प्रदूषणको सम्पर्कमा बच्चा त आएका हुँदैनन् । यस्तोमा बच्चामा प्रदूषणकै कारण दमको समस्या देखा पर्ने त हुँदैन होला ?
प्रदूषण मुख्यतया दुई प्रकारको हुन्छ । एउटा बाहिरी वायु प्रदूषण र अर्को भित्री वायु प्रदूषण । गाउँघरमा खाना पकाउँदा दाउराबाट निस्किएको धुवाँ, खाना पकाउँदा प्रयोग हुने तेलको धुवाँ, लामखुट्टे भगाउने धूप र भान्साबाट निस्किने अन्य धुवाँ आदि भित्री वायु प्रदूषण हो । साना बच्चा घरमा नै बस्ने भएकाले उनीहरू यसको सम्पर्कमा आउँछन्, जसले गर्दा बच्चामा दमको जोखिम बढ्छ । साथै केही आमा बाहिरको काम गर्छन् भने बाहिरको धुवाँ(धुलोको सम्पर्कमा पनि बच्चा आउने भए यसले पनि जोखिम बढाउँछ । बच्चाहरू छिटोछिटो सास फेर्छन्, जसले गर्दा प्रदूषण पनि छिटोछिटो भित्र छिर्ने भयो । साथै उनीहरू मुखले धेरै सास फेर्छन् । नाकले सास फेर्ने भएको भए धुवाँधुलो फिल्टर हुन्थ्यो, तर मुखले सास फेर्ने भएकाले प्रदूषण सिधै भित्र छिर्ने भयो । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बच्चाको फोक्सोको विकास राम्ररी भएको हुँदैन जसले गर्दा प्रदूषणले उनीहरूको फोक्सोको विकास क्रमलाई नै असर समेत गर्छ । त्यसैले बालबालिकालाई प्रदूषणबाट बचाउनुपर्छ ।
दमको कारण के कस्ता जटिलता निम्तिन सक्छ ?
दमका कारण तत्कालीन दीर्घकालीन दुई प्रकारको जटिलता निम्तिन सक्छ । पहिलो त बच्चाको दैनिकीमा असर पर्छ । आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था समेत आउन सक्छ । लामो समयसम्म दमको उपचार भएन भने श्वासनली बिग्रिंदै जाने, फोक्सोका भागहरू खुम्चिने, फोक्सोको संक्रमण जस्ता जटिलता निम्तिन सक्छ ।
उपचार के छ ?
दम कति बल्झिन्छ र कति गम्भीर रूपमा देखा पर्छ त्यसको आधारमा उपचार हुन्छ । दमको उपचारमा खाने औषधि प्रयोग गरिंदैन । खाने औषधिको धेरै साइड इफेक्ट हुने भएकाले सिधै श्वासनलीमा औषधि दिइन्छ । सिधै श्वास लिने औषधिमा एउटा नेबुलाइजर र अर्को इनहेलर हो । यस्ता औषधिको साइड इफेक्ट हुँदैन । दमको समस्यामा एउटा तुरुन्त आराम दिने र अर्को नियन्त्रण गर्ने । औषधि कति समय प्रयोग गर्ने भन्ने कुरा बच्चाको लक्षणमा भर पर्छ । बच्चालाई वर्षमा एक पटक गाह्रो हुन्छ भने गाह्रो भएको बेलामा औषधि लगाउनुपर्यो । बच्चा छिटोछिटो बिरामी हुन्छ भने दैनिक औषधि लगाउनुपर्छ । दम दीर्घरोग भए पनि उच्च रक्तचाप, मधुमेह जस्तो औषधि जीवनभरि प्रयोग गर्नु नपर्ने हुन सक्छ । दुई तीन महिना राम्ररी नियन्त्रण भयो भने औषधि छुट्न सक्छ । तर कतिपय अवस्थामा यो फेरि बल्झिन पनि सक्छ ।
बच्चालाई दम हुनबाट कसरी बचाउने ?
बच्चालाई दमको जोखिमबाट बचाउन बच्चा आमाको पेटमा भएदेखि नै हेरचाह गर्नुपर्छ । गर्भवती महिलाले धुम्रपान नगर्ने, प्रदूषणको सम्पर्कमा नआउने, सन्तुलित खाना खाने गर्यो भन्ने बच्चामा दमको जोखिम कम हुन्छ । प्राकृतिक रूपमा जन्मिएको बच्चामा भन्दा शल्यक्रियामार्फत जन्मिएको बच्चामा दमको जोखिम बढी हुन्छ । त्यसैले सम्भव भएसम्म प्राकृतिक रूपमा नै बच्चा जन्माउनुपर्छ । बच्चा जन्मिएपछिको खानपानले पनि दमको जोखिम बढ्छ । आमाको दूध खाएका बच्चामा दमको जोखिम कम हुन्छ । बच्चालाई प्रदूषणको सम्पर्कबाट टाढा राख्न सक्यो र जंकफुडको सेवन कम गर्यो भने पनि जोखिम कम हुन्छ । यी माथिका सबै कुरामा ध्यान दिंदा दम हुने सम्भावना कम हुन्छ । तर दम हुँदै नहुने भन्ने हुँदैन । त्यसैले समयमै पत्ता लगाएर उपचार गरियो भने यसको जोखिम कम हुन्छ ।