हिजो आज अधिकांश मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । जीवनशैली, बसाइँको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा असर पर्ने कारणले गर्दा मेरुदण्ड दुःखाई हुने गर्छ । यस बाहेक चोटपटक, संक्रमण, हड्डीमा ट्युमर तथा क्षयरोगका कारण पनि स्पाइनमा समस्या आउन सक्छ । समग्रमा यसलाई मेरुदण्ड (स्पाइन) सम्बन्धि समस्या भनेर बुझ्नुपर्छ । सुरुमा यो समस्या सामान्य देखिए पनि यसले दीर्घकालीन असर समेत गर्न सक्छ । त्यसैले यस्तो समस्याका कारण र दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।
कस्तो अवस्थामा शल्यक्रिया गर्नुहुँदैन ?
मेरुदण्ड सम्बन्धि समस्या भएका अधिकांशलाई शल्यक्रिया विना नै ठीक पार्न सकिन्छ । बस्दा वा काम गर्दा ढाडलाई असर नपर्ने गरी बस्ने, नियमित व्यायाम गर्ने, औषधि सेवन तथा फिजियोथेरापीबाट मेरुदण्ड दुख्ने समस्याको उपचार गर्न सकिन्छ । त्यस्तै, नसा च्यापिएर हुने दुःखाईको उपचार कहिलेकाहीँ प्यारालाइसिस हुने डरले शल्यक्रिया गर्नुपर्ने हुन्छ । यदि बिरामीको अवस्था सामान्य भएमा फिजियोथेरापीमार्फत पनि निको बनाउन सकिन्छ ।
त्यसैले हतारमा शल्यक्रिया गर्नुहुँदैन । कतिपय अवस्थामा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । सामान्य समस्या मात्र भनेर वास्ता नगर्दा भविष्यमा यसले ठूलो रूप लिन सक्छ । त्यसैले यसको पहिचान वेलैमा गर्न जरुरी छ ।
कस्तो अवस्थामा शल्यक्रिया गर्ने ?
मेरुदण्ड सम्बन्धि बिरामीमध्ये करिब १० प्रतिशतको मात्रै शल्यक्रिया गर्न आवश्यक हुन्छ । तपाईंलाई अत्यधिक दुःखाईका कारण संक्रमण र ट्युमर हुन सक्ने भएकाले शल्यक्रिया (स्पाइनल सर्जरी) को जरुरी हुन्छ ।
- मेरुदण्ड बांगिने समस्या स्कोलियोसिस र किफोसिस भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
- विभिन्न कारणले नसा च्यापिएर प्यारालाइसिस हुने स्थिति आएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।
- विशेषगरी, अग्लो ठाउँबाट लड्दा वा सवारी दुर्घटनामा हड्डी भाँचिएर नसा च्यापिन सक्छ । यस्तो वेला शल्यक्रिया गर्नुपर्छ ।
- ढाडमा चोटपटक लागेर हड्डीमा समस्या आएमा पनि शल्यक्रिया आवश्यक छ ।
कारण, रोकथाम र उपचार
घन्टौँसम्म टिभी, मोबाइल, ल्यापटप, कम्प्युटर हेर्ने मानिसमा मेरुदण्डसम्बन्धी समस्या देखिन्छ । आधुनिक उपकरण प्रयोग गरी घन्टौँ निहुरिएर, सुतेर वा एउटै पोजिसनमा बसेर हेर्ने गरिन्छ, जसले गर्दा मेरुदण्ड सम्बन्धि समस्या आएको देखिन्छ ।
- एकातिर मात्र निहुरिएर बस्दा मेरुदण्डको माथिल्लो भागमा दुःखाई उत्पन्न हुन्छ । मेरुदण्डलाई बांगो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब पर्छ र च्यापिने हुन्छ । जुन भागमा बढी दबाब पर्यो, त्यही ठाउँको नसा च्यापिने खतरा हुन्छ ।
- मेरुदण्डमा समस्या आउँदा कुप्रिँदै जाने हुन्छ । जसले गर्दा मुटु, फोक्सो र छातीमा समेत असर गर्छ । त्यसकारण, मेरुदण्डमा समस्या आउन नदिन समयमै यसबारे सचेत हुन आवश्यक हुन्छ ।
- गर्दनलाई असर पर्ने गरी गह्रौँ तौल भएको सामान उठाउने गर्नुहुँदैन । यसले मेरुदण्डको हड्डीलाई असर पुर्याउने खतरा हुन्छ ।
- सुत्ने तरिकामा पनि पनि निर्भर रहन्छ । दैनिक घोप्टो परेर सुत्दा मेरुदण्डलाई असर पर्छ । जसले पेटको बलले मेरुदण्ड, गर्दन र जोर्नीमा दुःखाई उत्पन्न गराउँछ
- क्याल्सियमको कमीले पनि मेरुदण्डमा समस्या देखा पर्छ । जसले गर्दा क्याल्सियमजन्य खाद्यपदार्थ नियमित सेवन गर्नुपर्छ ।
- धूम्रपानमा हुने निकोटिनले रक्तसञ्चारमा असर पार्दछ । त्यसकारण सकेसम्म धूम्रपान नगरेकै राम्रो हुन्छ ।