नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु भएको छ । डि.एम नेफ्रोलोजिष्ट डा सौरभ हमाल आजदेखि अस्पतालमा हाजिर भएसंगै भेरी अस्पतालमा पहिलो पटक मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजन पाण्डेले जानकारी दिनुभयो ।
बुटवल पश्चिम क्षेत्रमा पहिलो पटक डिएम नेफ्रोलोजिष्ट डा हमालले सेवा दिने भएपछि यस क्षेत्रका मिर्गौला सम्बन्धि समस्या भएका बिरामीहरुलाई अन्यत्र उपचार गराउन जानु पर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि विज्ञ चिकित्सक नहुँदा बिरामीहरु काठमाडौं र छिमेकी देश भारतका विभिन्न अस्पतालमा जान बाध्य थिए ।
अस्पतालले विशिष्टकृत सेवा बिस्तार गर्ने क्रममा नेफ्रोको सेवा पनि बिस्तार गरिएको निमित्त मेसु डा पाण्डेले बताउनुभयो । विशिष्टकृत सेवा अन्तगर्त भेरी अस्पतालमा न्युरो, युरो लगायतका सेवा सुरु भैसकेको छ । अव भेरी अस्पतालमा हप्ताको सोमबार, बुधबार र शुक्रबार (सार्वजनिक बिदा वाहेक) अस्पतालको ५ नं. OPD मा मिर्गौला रोग सम्बन्धि OPD सेवा, इमरजेन्सी र वार्डबाट अन्य आवश्यक सेवाहरु प्रदान हुने अस्पतालले जनाएको छ । यसअघि भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरुलाई सेवा फिजिसियन डा. पारस श्रेष्ठले सेवा दिदै आउनु भएको थियो ।