नेपालगन्जः काजका कर्मचारीलाई हाजिर गराएर तबल भुक्तानी दिएमा सम्बन्धित कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गरिने भएको छ । १ साउनदेखि काजका कर्मचारीलाई हाजिर गराएर तबल भुक्तानी दिएमा सम्बन्धित कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गरिने भएको हो ।
१४ साउनमा स्वास्थ्य सेवा विभागले एक मातहतका कार्यलयहरुलाई परिपत्र गर्दै काजका कर्मचारीलाई दरबन्दी भएको ठाउँमा फिर्ता गर्नसमेत निर्देशन गरेको छ । विभागले यदि फिर्ता नपठाएर हाजिर गर्न दिने र तलब भुक्तानी गर्ने कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट उक्त रकम असुलउपर गर्न लेखापरीक्षण गर्ने निकायलाई अनुरोध भएको पत्रमा उल्लेख छ । यस्तै, विभागको परिपत्रमा यो निर्णय कार्यन्वयन नगर्नेरनगराउने कर्मचारीलाई विभागीय सजाय सम्बन्धि कारवाही अगाडि बढाउने उल्लेख छ ।
विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरको १७ र २५ असारको निर्णयअनुसार काज फिर्ता सम्बन्धि जारी भएको पत्र र २७ बैशाखको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रका आधारमा उक्त निर्णय गरेको उल्लेख छ ।
यसअघि १७ र २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै दोहोरो सहमति लिएर कामकाज गरिरहेका स्वास्थ्यका कर्मचारीलाई आफ्नो दरबन्दी रहेको स्थानमा फर्किन निर्देशन दिएको थियो । त्यसरी काजमा बसेका कर्मचारीहरुलाई विदा, काज, पेश्की, इन्धन उपलब्ध नगराउने, हाजिरीसमेत बन्द गर्ने गरी निर्णय भएको विभागको परिपत्रमा छ ।